रामपुर (पाल्पा) । यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् ।
यहाँका व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताएका हुन् ।
दशौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा आयोजित कार्यक्रममा सहभागीले व्यवसाय सञ्चालनको क्रममा नाम तथा उद्देश्य सच्याउनुपर्ने अवस्थामा नाम परिवर्तन गर्दा दर्ताभन्दा बढी शुल्क बुझाउनुपर्ने अवस्था रहेको बताएका थिए । यस्तो विद्यमान अवस्थालाई परिवर्तनको आवश्यक उनीहरूको सुझाव थियो ।
कार्यक्रममा राज्यको करनीति र अनुगमनको नीति परिवर्तन गर्नुपर्ने रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताउनुभयो । उहाँले सङ्घले उद्योगी र व्यवसायीलाई परेको विभिन्न समस्या समाधानका लागि सङ्घले सहजीकरण गर्दै आइरहेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र रामपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि प्रदेश सरकारले औद्योगिक व्यवसाय प्रवर्द्धन ऐन ल्याएको जानकारी दिनुभयो ।
‘ऐन प्रमाणित भएर कार्यान्वयनको चरणमा रहेको छ । नाम परिवर्तनको क्रममा देखिएको समस्या समाधानका लागि पहल गरिने छ । हामीले व्यवसायी तथा उद्योगीको हितका लागि सहज हुने गरी कार्य गर्ने प्रयत्न गरेका छौँ’ उहाँले भन्नुभयो ।
पाल्पामा हाल तीन हजार सात सय ५६ उद्योग र चार हजार दुई सय ८५ वाणिज्य फर्म सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्यामकुमार पौडेलले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा उद्योग दर्ताभन्दा धेरै खारेज गर्नेको सङ्ख्या बढेको उहाँ बताउनुभयो ।
सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीय तहमा स्थानान्तरण हुने गरेपछि कार्यालयमा नयाँ दर्ता गर्ने व्यवसायी तथा उद्योगी कम हुँदै गएका हुन् ।
सङ्ख्यागत रूपमा जिल्लामा उद्योगी तथा व्यवसायी बढेका छन् भने घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने सङ्ख्या भने कम देखिएको छ । (रासस)