काठमाडौँ । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
राष्ट्रिय बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८१ मङ्सिर २ गते आइतबार जारी गरेको बुलेटिनमा सो जानकारी दिइएको हो ।
हात्तीको आक्रमणबाट दमक नगरपालिका वडा नं. ३ दीपज्योति टोल निवसी ४५ वर्षीय मिनबहादुर भण्डारीको मृत्यु भएको बुलेटिनमा जनाइएको छ ।
टोलमा छिमेकी सुबिन भट्टराईको घर जङ्गली हात्तीले भत्काएको देखेर धपाउँदा हात्तीले लछारपछार गरी उचालेर पछार्दा निजको मृत्यु भएको हो ।
घटनास्थलमा बाघखोर प्रहरीचौकीको टोली उद्धारका लागि पुगेको थियो ।
अर्नाले हान्दा घाइते
यता, सुनसरीमा खेतबारीमा घाँस काटिरहेकी एक महिलालाई अर्नाले हान्दा घाइते भएकी छिन् ।
कोशी गाउँपालिका वडा नं. २ प्रगतिचोक निवासी ४५ वर्षीय महिला घाइते भएकी हुन् ।
घाइती महिलालाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी पठाइएको छ ।
मुस्ताङमा बालिकालाई लेक लाग्यो
त्यस्तै, मुस्ताङमा एक जना बालिकालाई लेक लागेको छ ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं. १ जिपपार्कस्थित मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा जीवनज्योति माध्यमिक विद्यालय गोरखाबाट ७० जनाको टोलीमा आएकामध्ये १४ वर्षीया बालिकालाई लेक लागेको थियो ।
निज बालिकालाई श्वासप्रश्वासमा समस्या देखा परेपछि जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको थियो ।