मेघराज भट्टराई ##
साहिलो दाइ, जसले सधैँ नम्र भाषामा सम्पूर्ण गाउँका मान्छेसँग बोल्नुहुन्थ्यो । गरिबीका कारण अरूको जाडो भगाउन साहिलो दाइले दाउरा काट्नुहुन्थ्यो । उहाँसँग सम्पत्तिको नाममा एउटा बन्चरोबाहेक केही पनि थिएन सायद ।
साहिलो दाइले दुई महिलासँग विवाह गर्नुभएको थियो । पहिलो सन्तान जुठे, दोस्रो मोहन, तेस्रो मुमान लाटा । अरू मलाई त्यति धेरै याद छैन ।
खरबारी थिएन, झुपडी थियो, त्यो पनि सल्लाको कुसुमले छाएको । साहिलो दाइसँग अन्न किन्ने पैसा अपुग हुन्थ्यो । चाडपर्वमा सिकार खाने पैसा नहुने । उहाँले गाईगोरु मर्यो भने त्यसको मासु खाने गर्नुहुन्थ्यो ।
यो अभाव गरिबी भन्ने चिज पनि कति पीडादायी हुन्छ हगी ? जसले सबैभन्दा बढी मिहिनेत गर्छ, उसैको चुलो सधैँ चिसो किन हुन्छ होला ? आज कता कता बजारमा फिलिम हेरेर रुने मान्छेको भिड देख्छु अनि यी र यस्ता गरिब निमुखा, दुखीका लागि एक शब्द खर्चिने उनीहरूका लागि केही बोल्ने, लेख्ने मान्छेको अभाव देख्छु । त्यसबाट मन खिन्न हुन्छ ।
दशैँ आउथ्यो, तिहार आउथ्यो । एकसरो लुगा बदल्ने हैसियत थिएन । एक छाक मिठो खान नपुग्ने ती साहिलो दाइको विवशता छोराछोरीको भोकलाई मनैदेखि मनन गर्छु अनि यस्ता नाटककारको नजर हाम्रा बस्तीमा भएका साहिलो दाइको घरआगन, झुपडीमा कहिले पुग्ला भनेर सोचिरहन्छु ।
पञ्चायती कालरात्रीबाट आज गणतन्त्रसम्म आउँदासमेत ती साहिला दाइको घरकटेरोमा उषाको लाली किन पुगेन ? त्यो बन्चरोबाहेक उहाँले जीवन बिताउने कुनै साधनस्रोत थिएन भने आज त्यो बुढो मान्छे कहाँ होलान् ?
उनको पहिलो श्रीमती आँखामा फुलो परेर उपचारको अभावले आखा नदेख्ने भएकी थिइन् । उनले दाङकै घोराही बजार क्षेत्रमा मागेर जीवन गुजारा गरेको देख्थेँ । सन्तान धेरै भए पनि सहारा नभएर त होला, आफै माग्न हिँडेकी ।
साहिलो दाइकी अर्की श्रीमती थिइन्, जो साहिलो दाइले चिरेको दाउरा घर घर पुर्याउँथिन् । दुई जना मिलेर हाँसेर बस्थे । झगडा गरेको मैले देखिनँ ।
अरूका लागि दाउरा चिर्ने मान्छेको घरमा सधैँ जाडो हुने नेपालको चलन नै हो किनकि अरूको काम गर्दा आफ्ना लागि आवश्यक सरसामानको जोहो गर्नै नभ्याइने ।
साहिलो दाइ दलित परिवारको हुनुहुन्थ्यो । यो समाजले उहाँलाई एक प्रकारको अन्याय गरेको थियो। त्यो हो– छुवाछुत । उहाँले कहिल्यै कसैको कुभलो गर्नुभएको मलाई याद छैन तर पनि अछुत भनेर हेप्ने कुरा मैले देखेको छु ।
मानिसहरूले हेपेर उहाँलाई लन्थरे भन्थे । सायद मैले पनि कहीँ कतै यो शब्द प्रयोग गरेक ? अन्जानमा भुलवश बोलेँ कि किनकि म पनि त यही समाजको उपज त हुँ नि, होइन र ?
हामी गाउँका साना केटाकेटी स्कुल जान्थ्यौँ तर साहिलो दाइका छोराछोरी नजिकको स्कुलमा कहिलै गएनन् । मेरो घरदेखि स्कुल जानुभन्दा साहिलो दाइलो घरबाट स्कुल जान आधा नजिक थियो तर ती साहिलो दाइ बहुदल आएदेखि कता हराए ? कहाँ छन् ? जीवित छन् कि मरिसके ? मलाई जानकारी छैन ।
आज आफ्ना लागि अधिकार माग्ने हाम्रो समाज अरूका लागि पनि एक शब्द बोलिदिए हुने । होइन र ? साहिलो दाइको छोरा छोरी पनि कहाँ होलान् ? मलाई सम्झेर ल्याउँदा झसङ्ग बनाउँछ ।
यो देशमा ठुला ठुला परिवर्तन भए । भन्नका लागि जनयुद्ध पनि भयो तर गरिखाने वर्गले जन्मथलो छोड्नुपर्ने यस्तो परिवर्तनको के अर्थ रह्यो ? हामीलाई आफ्नै ठाउँमा गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था कहिले हुने हो ? तबसम्म हाम्रा साहिला दाइहरू जन्मिन्छन् अनि विलीन हुन्छन् । कसैले सोधखोज गर्दैन, जो यो समाज परिवर्तनमा वाहक हुन् ।