काठमाडौँ । विद्युत् विकास विभागले जलविद्युत्तर्फ कुल क्षमता ६९ दशमलव दुई मेगावाट रहेका सातओटा आयोजना तथा सौर्य ऊर्जातर्फ दुईओटा आयोजनाको कुल ४० मेगावाट बराबरको आयोजनालाई अनुमति दिएको छ ।
विभागका महानिर्देशक नवीनराज सिंहले प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।
उहाँका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ ।
विभागले वायु ऊर्जातर्फ एक आयोजनाको कुल १० मेगावाट बराबरको क्षमता रहेको जनाएको छ । यसरी कुल १० ओटा आयोजनाको एक सय १९ दशमलव दुई मेगावाट जडित क्षमताको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी गरिएको हो ।
जलविद्युत्तर्फ चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिको छ । सो आयोजनाको कुल क्षमता दुई सय १० रहेको छ । यस्तै, अन्य १२ ओटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ । ती आयोजनाको क्षमता तीन सय ५३ दशमलव दुई मेगावाट छ ।
सौर्य ऊर्जातर्फ दुई आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७ दशमलव तीन मेगावाट रहेको जनाइएको छ । यसबीचमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ ओटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।
प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको ५६ दशमलव ४५ सर्किट किलोमिटर, एक सय ३२ केभी क्षमताको दुई सय १० दशमलव ९५ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताको एक सय २५ दशमलव एक सर्किट किलोमिटर, चार सय केभी क्षमताको २९ दशमलव ३७ सर्किट किलोमिटर गरी कुल २२ ओटा विद्युत् प्रसारणको सर्वेक्षण अनुमतिपत्रसमेत जारी गरिएको महानिर्देशक सिंहले जानकारी दिनुभयो ।
त्यस्तै, प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको २३ दशमलव पाँच सर्किट किलोमिटर, एक सय ३२ केभी क्षमताको १९ दशमलव आठ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताको १२ दशमलव एक सर्किट किलोमिटर र चार सय केभी क्षमताको पाँच सर्किट किलोमिटर गरी कुल सातओटा विद्युत् प्रसारण लाइनको अनुमतिपत्र जारी गरिएको उहाँले बताउनुभयो ।
विभागका अनुसार वितरण लाइनतर्फ ३३ केभी क्षमताको कुल ८३ सर्किट किलोमिटर हुने सातओटा विद्युत् वितरणतर्फको अनुमतिपत्र जारी गरेको छ ।