काठमाडौँ । राष्ट्रिय जनमोर्चाले १९ वर्षमुनिका नेपाली महिला क्रिकेट टोलीले विजय प्राप्त गरी आई.सी.सी. यू–१९ विश्वकपमा स्थान बनाएकोमा हर्ष प्रकट गर्दै आगामी प्रतियोगितामा विजयका लागि अग्रिम बधाई ज्ञापन गरेको छ ।
उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ कात्तिक ३० गते प्रेसवक्तव्य जारी गर्दै राजमोले बधाई ज्ञापन गरेको हो ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“२०८१ कात्तिक २८ गते सम्पन्न खेलमा विजय प्राप्त गरी नेपाली महिला क्रिकेट टोलीले आई.सी.सी. यू–१९ महिला विश्वकपमा स्थान बनाएको छ । उक्त टोली कात्तिक २९ गते साँझ नेपाल फर्केको छ ।
राष्ट्रिय जनमोर्चा १९ वर्षमुनिका नेपाली महिला क्रिकेट टोलीको यो सफलताप्रति हर्षानुभूति व्यक्त गर्दछ । सीमित साधनस्रोतका बाबजुद नेपाली खेलाडीको प्रदर्शन स्वागतयोग्य छ । हामी नेपाली खेलाडीहरूको हौसला बुलन्द गराउँदै आगामी प्रतियोगितामा विजयका लागि अग्रिम बधाई दिन चाहान्छौँ । यस सन्दर्भमा खेल क्षेत्रको विकासका लागि यथोचित बजेट, तालिम र पुरस्कारको व्यवस्था गर्न पनि हामीले सरकारसित माग गर्दछौँ ।”