काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।
मितेरी सहकारी ठगीमा नाम जोडिएका गुरुङलाई सीआईबीले बुधबार करिव ५ घण्टा बयान लिएर कागज गराएको हो ।
मितेरी सहकारीको विषयमा उठेका प्रश्नका बारेमा सोधखोज गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए ।
श्रीमती ज्योति गुरुङ व्यवस्थापक रहेको ललितपुरको मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा धनराज गुरुङ पनि जोडिएका हुन् । ज्योतीले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। ज्योतिविरुद्ध सहकारीकै अध्यक्ष कुम्भराज गुरुङले समेत सीआईबीमा जाहेरी दिएका थिए ।
धनराजले भने ज्योतिसँग २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भइसकेको बताउँदै आएका छन्। तर सम्बन्ध विच्छेदपछि पनि धनराजले ज्योतिको नाममा रहेको सहकारीको ऋण समेत तिरेका थिए।
पहिल्यै सम्बन्ध विच्छेद भइसकेको भनेका गुरुङले २०७९ को निर्वाचनमा उम्मेदवार फारममा श्रीमती ज्योति गुरुङ नै उल्लेख गरेको भेटिएको छ। यस बारेमा पनि सीआईबीले के भएको भनेर उनीसँग सोधेको छ।