काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा परेको छ। राज्यमन्त्री तामाङ सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
उक्त कम्पनीलाई सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, तुम्लिङटारको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले आज (कात्तिक २३ गते) प्रकाशित सूचनामा कालोसूचीमा राखेको हो।
कोसी राजमार्ग विस्तार तथा मर्मतको काम ठेक्का लिएका उनले बारम्बार म्याद थप र तोकता गर्दा पनि वास्ता नगरेपछि सडक डिभिजनले ठेक्का तोडेको छ। उनले कान्छाराम एनबी जेभीका नाममा याक्का चोकदेखि पिलुवासम्मको १४ किलोमिटर सडक निर्माणको ठेक्का लिएको थियो।
अब उनको कम्पनीले २ वर्ष ६ महिनासम्म नेपाल सरकारका कुनै पनि सार्वजनिक खरिद तथा निर्माण कार्यमा सहभागी हुन पाउने छैन।
ठेकेदार तामाङ रामेछापबाट कांग्रेसका निर्वाचित सांसद हुन्।
सरकारी ठेक्का लिएर समय र गुणस्तरको पालना नगर्ने काममा बदनाम तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थ बाझिने ऊर्जा राज्यमन्त्रीको जिम्मेवारी सुम्पेका थिए ।
