जकार्ता । पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीले सोमबार जनाएका छन् । अधिकारीका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।
फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेबोटोबी लाकीलाकीमा एक हजार ७०३ मिटरको दुईटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीले बताएका छन् ।
ज्वालामुखीले जलिरहेको चट्टान घरमा फ्याक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाले आफू भयभित भएको बताएका छन् ।
इन्डोनेसियाको बिपत् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताउनुभएको छ । उहाँका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ ।
एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखीनजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ । ज्वालामुखी नजिकै पाँचओटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् ।
ज्वालामुखी मामिला सुरक्षा निकायले स्थानीय र पर्यटकलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रविन्दु) को सात किलोमिटर दायराभित्र केही गतिविधि नगर्न निर्देशन दिएको छ ।
पछिल्लो समयमा माउन्ट लेबोटोबी लाकीलाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रूपमा वृद्धि भई घरमा क्षति गरेपछि स्थानीयले साम्प्रदायिक भवनमा शरण लिएका छन् ।
ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयलाई मास्क लगाउन आग्रह गरेको छ । (रासस/एएफपी)