वासिङटन । गर्भपतनको अधिकारको सन्दर्भमा डेमोक्रेटिक पार्टीका उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्दै हजारौँ अमेरिकी महिलाले शनिबार वासिङ्टनमा प्रदर्शन गरेका छन् ।
ह्यारिसले रिपब्लिकन डोनाल्ड ट्रम्प विरुद्ध ह्वाइट हाउस अभियानमा गर्भपतन अधिकारलाई केन्द्रीय मुद्दा बनाएपछि सो प्रदर्शन भएको हो ।
‘महिलाका रूपमा हाम्रो अधिकारको समर्थन गर्ने उम्मेदवारलाई मतदान गर्नु मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो’ उत्तर क्यारोलिनाबाट कार्यक्रममा सहभागी हुन आएकी १९ वर्षीया लिया ब्रुकरले भन्नुभयो ।
उहाँले पहिले नै प्रारम्भिक मतदानमा आफ्नो मत खसालिसकेकको बताउनुभयो । ‘मेरो पहिलो मत एक महिलाका लागि थियो भन्ने कुरा धेरै सशक्त थियो’ उहाँले भन्नुभयो ।
उहाँले ‘यदि केटाहरू केटा नै हुन्छन् भने महिलाहरू राष्ट्रपति हुने छन्’ भन्ने लेखिएको प्लेकार्ड बोक्नुभएको थियो ।
अन्य प्लेकार्डमा “मतदानले अवाञ्छित राष्ट्रपति रोक्छ” र “महिलाको स्थान ओभल अफिसमा हो” जस्ता नारा लेखिएका थिए ।
आयोजकले करिब १५ हजार मानिसको उपस्थिति रहेको अनुमान गरेका छन् । अन्य अमेरिकी सहरमा पनि सहयोगी मार्च आयोजना गरिएका थिए ।
अमेरिकी क्यापिटलको गुम्बजलाई पृष्ठभूमिको रूपमा राख्दै फ्रिडम प्लाजामा वक्ताले ६० वर्षीया ह्यारिसको समर्थनमा जोस भरेका थिए ।
“हामी पछि फर्किंदैनौँ” ह्यारिसको अभियानको एउटा नारालाई दोहोर्याउँदै भिडले नारा लगायो ।
सत्तरी वर्षीया सेवानिवृत्त मार्लिन वाग्नर नेब्रास्काबाट आउनुभएको थियो । उहाँले भन्नभयो– ‘म मेरा नातिनातिना र मेरा बच्चाका लागि आएकी हुँ किनभने म उनीहरूको भविष्यका लागि डराएकी छु ।’
उहाँको मध्यपश्चिमी राज्यमा गर्भावस्थाको बाह्रौँ हप्तापछि गर्भपतनमा प्रतिबन्ध लगाइएको छ ।
ट्रम्पले नियुक्त गरेका सर्वोच्च अदालतका न्यायाधीशले सन् २०२२ मा गर्भपतनको राष्ट्रिय अधिकार समाप्त गर्ने निर्णयमा पुर्याएपछि यो प्रतिबन्ध आएको थियो ।
राष्ट्रपतीय मतदानसँगै हुने जनमत सङ्ग्रहमा १० राज्यमा गर्भपतन अधिकार मतपत्रमा छ ।
नेब्रास्कामा एउटा प्रस्तावले राज्यको संविधानमा गर्भपतन प्रतिबन्ध थप्न खोज्दै छ भने अर्कोले यो प्रक्रिया अनुमति दिइने अवधि बढाउन खोज्दै छ ।
ट्रम्पको निर्वाचनपछि सन् २०१७ को पहिलो महिला मार्चमा पनि सहभागी भएकी वाग्नरका लागि विकल्प स्पष्ट थियो । ‘गर्भपतन प्रतिबन्धको पहिले नै प्रतिक्रिया भएको छ किनभने महिलाले आवश्यक स्याहार पाउन सकेका छैनन्’ उहाँले भन्नुभयो ।
केही विरोध प्रदर्शनकारीले ह्यारिसलाई ‘बच्चा मार्ने’ को आरोप लगाए यद्यपि उनीहरूको आवाज धेरैजसो दबाइएको थियो ।
‘ट्रम्प धेरै खतरनाक हुनुहुन्छ र महिलालाई बेवास्ता गर्नुहुन्छ’ न्युयोर्ककी ६६ वर्षीया एब्बी कोहेनले प्लान्ड पेरेन्टहुडको बुथ नजिकै उभिएर भन्नुभयो– ‘म आशा गर्छु कि सबै महिलाले ह्यारिसलाई मत दिनेछन् तर म आशा गर्छु कि सबै पुरुषले पनि ह्यारिसलाई मत दिने छन् ।’ (रासस/एएफपी)