काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कात्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ ।
सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आगामी बुधवार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रश्ताव पारित गरेको हो ।
उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उनीहरूको सुनुवाइको काम पनि एकैदिन सम्पन्न गर्नेगरी सचिवालयबाट गरिएको प्रस्तावसहितको कार्ययोजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए ।
बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव हुन् ।
समितिको अर्को बैठक आगामी कात्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।