काठमाडौँ । बहराइनको मानमामा जारी आइएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरेबियालाई पराजित गरेको छ ।
बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीहल बीमा नवौँदेखि तेह्रौँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई ४–१ ले पराजित गर्यो ।
जितसँगै नेपालले सोमबार नवौँदेखि एघारौँ स्थानका लागि युगान्डा वानसँग खेल्ने छ । यो खेल जितेमा नेपालले पुनः नवौँदेखि दशौँ स्थानका लागि खेल्ने अवसर पाउने छ । नतिजा अनुकूल नआएमा नेपाल एघारौँ स्थानमा रहने छ ।
महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङ्गल्यान्ड, अजरबैजान, इटाली र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल इङ्गल्यान्डसँग ४–३, अजरबैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईसँग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियङ्का राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलिरहेका छन् ।
महिलामा नेपालले सिङ्गल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिङ्गल्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।