काठमाडौँ । विगत वर्षका बडादशैँमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ ।
विगत वर्षमा बडादशैँका दिन राजधानीका सडक सुनसान प्रायः हुने गरेकोमा यस वर्ष भने बढी चहलपहल देखिएको हो ।
घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढीपहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस घटेकाले राजधानीमा चहलपहल देखिएको हो । राजधानीबाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो ।
राजधानीमा चहलपहल बढेपछि सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।
राजधानीका धेरै स्थानमा टीका लगाउन हिँड्नेले पनि यस वर्ष विगतमा भन्दा सहजै सार्वजनिक यातायात भेटिएको प्रतिक्रिया दिए । विगत वर्षमा बडादशैँका दिन रत्नपार्कबाट नैकाप जाने सवारी नपाइने गरेकोमा यस वर्ष सहजै पाइएको जगदीश भण्डारीले अनुभव सुनाउनुभयो ।
बाढीपहिरोले बिग्रिएको सडक बनिसके पनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानीबाहिर गएका हुन् ।
समाजशास्त्री कीर्तिकुमार दुमी राई भने धेरै नेपाली परिवारसहित राजधानी बस्ने क्रम बढेकाले पनि कम यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको बताउनुहुन्छ । राजधानी, ठुला सहर र सदरमुकामकेन्द्रित बसोबास गर्नेको सङ्ख्या बढिरहेको उहाँले सुनाउनुभयो । यसैले गर्दा पनि यस वर्षको बडादशैँमा राजधानीमा बढी चहलपहल देखिएको हो ।