धनगढी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले मान्छेको जीवनभन्दा ठुलो राष्ट्रियता भएकोले कोरोनाको महामारी भएपनि घरभित्र बस्न नसकिने बताउनुभएको छ ।
राजमो कैलालीले सोमबार धनगढीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टले कोरोना संक्रमणबाट समाजलाई बचाउन घरभित्र बसेपनि अब देश बचाउन घरबाहिर निस्कनुपर्ने अवस्था आएको बताउनुभयो ।

‘समजालाई बचाउन हिजो भित्र बस्यौं, आज देश बचाउन हामी बाहिर निस्केका छौं’ भट्टले भन्नुभयो, ‘यो लकडाउनको बिचमा पनि हामीले कार्यक्रम गरिरहेका छौं। यसको मुख्य उद्देश्य सार्वभौमसत्ता, राष्ट्रियता र अखण्डताको रक्षा हो ।’
सन् १९६२ देखी दार्चुलाको कालापानीमा करिब ५ वटा बम्कर बनाएर, ५ वटा सैनिक शिवीर बनाएर भारतीय सेना बसेको प्रशंग उल्लेख गर्दै नेता भट्टले नेपालको ३७२ दशमलब ३७ वर्ग किलोमिटर भूमि भारतले कब्जा गरेको बताउनुभयो ।

भारतले नेपालमा अतिक्रमण गरेको भूभाग कतिपय साना देश भन्दा धेरै भएको उहाँले स्पष्ट पार्नुभयो । ‘माल्दिभस एउटा सिंगो देश हो, त्यो देशको क्षेत्रफल जम्मा २ सय ८६ वर्ग किलोमिटर छ तर भारतले हाम्रो कब्जा गरेको भुमि ३७२ दशमलब ३७ वर्ग किलोमिटर छ’ भट्टले भन्नुभयो ।

धनगढी उपमाहानगरपालिकाको एलनचोकमा भएको कार्यक्रमलाई अखिल भारत नेपाली एकता समजाका उपाध्यक्ष हिरा चन्द, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले सम्बोधन गर्नुभएको थियो । विरोध सभाको सञ्चालन धनगढी उपमहानगर समितिका अध्यक्ष डबल बोगटीले गर्नुभएको थियो ।

त्यस्तै, सोमबार नै कैलालीको गौरिगंगा नगरपालिकाको कुचैनीमा पनि राजमो र क्रान्तिकारी माओवादीको संयुक्त आयोजनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरिएको छ । कार्यक्रमलाई राजमोका पूर्व जिल्ला अध्यक्ष लक्षिराम आचार्य र क्रान्तिकारी माओवादीका रुद्र कँडेले सम्बोधन गर्नुभएको थियो ।

यसैगरी, धनगढीको राजपुरमा पनि पुत्ला दहन तथा विरोध सभा सम्पन्न भएको छ । डबल बोकटीको सञ्चालनमा भएको विरोभ सभालाई राजमोका केन्द्रीय सदस्यद्वय मनोज भट्ट र नन्दराज भट्ट, अखिल नेपाल किसान महासंघका नेता हरिकृष्ण पाण्डे, जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खड्क राना लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो । त्यहाँ मोदीको पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरी पुत्ला खोसिदिएका थिए ।

यसैगरी बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाको वडा नम्बर १ मा पनि पुत्ला दहनसँगै विरोध सभा सम्पन्न भएको छ । सभालाई राजमोका स्थानीय नेता पदमराज जोशीले सम्बोधन गर्नु भएको थियो ।
लिपुलेकमा भारतले सडक सञ्चालन गरेको विरोधमा राष्ट्रिय जनमोर्चाले देशको विभिन्न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन तथा विरोध कार्यक्रम गरिरहेको छ ।
यसैगरी डोटीको केआइसिंह गाउँपालिकाको दुर्गामाण्डुमा पनि विरोध र्या लीसहित बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । कार्यक्रमको सञ्चालन राजमो जिल्ला सल्लाहकार कविराज जोशीले गर्नुभएको थियो भने सम्बोधन राजमो जिल्ला सचिव केशवनाथ योगीले गर्नुभएको थियो । विरोध र्यालीमा सहभागि हुनेलाई प्रहरीले गिरफ्तार गर्ने धम्की दिई सहभागी हुनबाट रोक लगाएको थियो ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका विभिन्न स्थानसँगै डोटी, डडेल्धुरा, बझाङलगायतका जिल्लाका पुतला दहत गरिएको छ । त्यस क्रममा प्रहरीले ठाउँ ठाउँमा हस्तक्षेप गरेको छ भने कञ्चनपुरमा राजमोका जिल्ला सहसचिव लालबहादुर कुँवरसहित चार जनालाई गिरफ्तार गरी ६ घण्टा पछि छोडिएको छ ।

