बागलुङबजार । राष्ट्रिय जनमोर्चाको बागलुङ नगरपालिका १२ नम्बर वडा समिति अमलाचौरले बडादशैको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
राजमो केन्द्रीय सदस्य अमर थापाको प्रमुख आतिथ्यमा २०८१ असोज २४ गते बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका बडादशैँको शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि थापाले देशका अर्थतन्त्रले थाम्न नसकेको सङ्घीयतालाई खारेज गर्न नसके सङ्घीयताले नेपाल खारेज गर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सोही अवधारणाका साथ राजमोले सञ्चालन गर्न थालेका एक हप्ते सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा राजमो बागलुङका अध्यक्ष तिलक थापा, जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी, जिल्ला सदस्य लोकनाथ शर्मा, जिल्ला सल्लाहकार टेकबहादुर आरसी, राजमो पोखरा–बागलुङ सम्पर्क समितिका दुमनाथ शर्मालगायतका अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वडासमिति अमलाचौरका अध्यक्ष घनश्याम सुनारको अध्यक्षता तथा गोविन्द पौडेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई मुमा शर्माले स्वागत गर्नुभएको थियो ।

