खलङ्गा । प्युठानमा दुई घर भत्किएका छन् । निरन्तरको वर्षाका कारण गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक गरी दुई घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
गौमुखी गाउँपालिका–३ कोरबाङका विष्णु सेन र स्वर्गद्वारी नगरपालिका–३ धापधाराका तेजबहादुर नेपालीको कच्ची घरमा पानी चुहिएर भत्किएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पीडितलाई उद्धार गरी आफन्तको घरमा राखिएको छ । इलाका प्रहरी कार्यालय भिङ्ग्रीको प्रहरी डिउटी बस्ने पोस्ट, पर्खाल र भरिएका हतियार खाली गर्ने ठाउँसमेत भत्किएको उहाँको भनाइ छ ।
सडक अवरुद्ध
वर्षाका कारण पहिरो जाने, लेदो झर्ने हुँदा प्युठानको मुख्य सडक भालुबाङ–प्युठान सडकबाहेकका सडक अवरुद्ध भएका छन् । लामो प्रयासपछि भालुबाङ–प्युठानमा पर्ने गर्जेनी, सिमलचौर, खहरेलगायत ठाउँबाट अवरोध खोलिएको हो ।
प्युठान–तिराम–घोराहीसहित जिल्लाका बजारलाई जोड्ने सबै सडकहरू अवरुद्ध भएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । सडक अवरुद्ध र वर्षा चलिरहेका कारण जिल्लामा क्षति विवरण आउन सकेको छैन । वर्षा रोकिएपछि वर्षाले गरेको क्षति विवरण आउने सूचना अधिकारीको भनाइ छ ।
जिल्लाभर वर्षा नरोकिएकाले क्षति विवरण आउन सकेको छैन । हाल उपलब्ध जानकारीअनुसार प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक मत्स्यपालन तथा एकीकृत कृषि फर्ममा बाढी पसी माछा बगाउँदा पाँच लाखको क्षति भएको छ ।
फर्ममा बढी पानी परेपछि पाँचओटा पोखरीमा रहेको सबै माछा बगाएको फर्मका सञ्चालक भोजबहादुर बस्नेतले जानकारी दिनुभयो ।
सञ्चालक बस्नेतका अनुसार पाँचओटा पोखरीमा रहेको सबै माछा बगाउँदा करिब पाँच लाख बराबरको क्षति पुर्याएको हो ।
५६ रोपनी क्षेत्रफलमा १० ओटा पोखरीमध्ये पाँचओटा पोखरी भत्काइदिएको छ । फर्ममा क्षति पुर्याइदिएको भन्दै बस्नेतले नगरपालिकाको विपद् व्यवस्थापनले समन्वय गरिदिन आग्रह गरेका छन् । (रासस)