झापा । झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दीमा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा धेरै बिरामी परेका छन्।
स्थानीय रीता निरौलाको घरमा लगाएको सत्यनारायणको पूजाको प्रसाद खाँदा उनीहरू बिरामी परेका हुन्।
पूजामा प्रसाद खानको लागि निरौला परिवारले छरछिमेकलाई निमन्त्रणा गरेका थिए। आफन्त र छिमेकी गरेर झण्डै ५५/६० जनाले पूजाको प्रसादी खाएका सबै बिरामी परेका र्जुनधारा नगरपालिकाकी उपमेयर खड्गकुमारी पराजुलीले जानकारी दिएकी छन् ।
बिरामी परेका स्थानीयको विभिन्न अस्पतालमा उपचार भइरहेको उपप्रमुख पराजुलीले बताइन् । उनका अनुसार धेरै बिरामीको अहिले शनिश्चरेमा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ।
बिरामीमध्ये १८ वर्षीया गोमा भुजेल, ५५ वर्षीया दुर्गा भुजेल, ४० वर्षीया तारा बस्नेत, १५ वर्षीय रिवस बाराकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी ४१ वर्षीया गोमा भट्टराई र २६ वर्षीय मनिता कार्कीको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको आफन्तले बताएका छन्।
प्रसादीमा सेल, अचार, तरकारी खाएको बताइएको छ ।
प्रभावित क्षेत्रमा आज जनस्वास्थ्य कार्यालय झापाबाट स्वास्थ्यकर्मीको टोली गएको छ ।