बेइजिङ । चीनले यही सेप्टेम्बरमा रुससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ ।
नौसेना तथा वायु सेनाले रुसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको हो ।
अभ्यासको उद्देश्य चिनियाँ तथा रुसी सेनाबिचको रणनीतिक सहयोगलाई मजबुत बनाई सुरक्षा खतरासँग संयुक्त रूपमा सामना गर्ने उनीहरूको क्षमता बढाउनुरहेको मन्त्रालयले उल्लेख गरेको छ ।
दुवै पक्षले संयुक्त समुद्री गस्तीका लागि प्रसान्त महासागरको समुद्री क्षेत्रमा नौसेना पठाउने छन् भने चीनले रुसको ओसन–२०२४ रणनीतिक अभ्यासमा पनि भाग लिने छ ।
यसअघि, जुलाईमा दुई देशले चीनको गुआङडोङ प्रान्तस्थित झानजियाङ सहर वरपरको पानी र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।
सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गर्नुअघि उनीहरूले सीमाविहीन साझेदारीको घोषणा गरेका थिए ।
गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा चिनियाँ प्रधानमन्त्री ली किआङसँगको भेटमा रुसको चीनसँगको आर्थिक र व्यापारिक सम्बन्ध फलदायी भएको बताउनुभएको थियो । (रासस/एएफपी)