अशोक खनाल, भालुवाङ (दाङ) ।
सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण तथा सचेतना दिवसको अवसरमा गिद्ध संरक्षणसम्बन्धी अन्तरमहिला समूहबिच तिजविशेष प्रतियोगिता सम्पन्न भएको छ ।
दाङको राप्ती–२ लालमटियास्थित कालिका सामुदायिक वन उपभोक्ता समूह पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रको आयोजनामा २०८१ भदौ १७ गते सोमबार लालमटियामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रहनुभएका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गर्नुभएको थियो ।
प्रतियोगितामा नेपाल मगर महिला सङ्घ राप्ती–२ लालमटिया प्रथम, गोरखा आइडियल स्कुल राप्ती–२ लालमटिया द्वितीय र आदर्श नमुना माध्यमिक विद्यालय राप्ती–२ बराखुट्टी तृतीय भएका थिए ।
प्रतियोगिताका विजयी समूहलाई रु. २५००, रु. २००० र रु. १५०० नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजयी प्रतियोगी समूहको नतिजा मूल्याङ्कन समितिका संयोजक एवम् ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले घोषणा गर्नुभएको थियो ।

कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाको सभापतित्वमा सम्पन्न समारोहलाई प्रमुख अतिथि विष्ट, विशिष्ट अतिथि राप्ती–२ का वडाअध्यक्ष पहलवान चौधरी, सामुदायिक वन महासङ्घ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत भोपाल नेपाली राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङका उपाध्यक्ष बिजुला केसी, कालिका सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार रमेशमान गुरुङ, वर्ल्ड लाइफका शुष्मा चौधरी, गोरखा आइडियल स्कुलका प्रधानाध्यापक वसन्त पुन, आदर्श नमुना माविका शिक्षक जीवराज शर्मा, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिवालय सदस्य महेश रिजाललगायतले प्रकृतिको कुचिकारका रूपमा प्रसिद्ध लोपोन्मुख पन्छी गिद्ध संरक्षणबारे प्रकाश पार्नुभएको थियो ।
पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रका सदस्य शिवबहादुर रानामगरको स्वागत मन्तव्यमा एक मिनेट मौनधारण गरी सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कृणा पोख्रेलले गर्नुभएको थियो ।