टेकराज भुसाल, बुटवल ।
आउँदै गरेको तिजको अवसरमा रुपन्देहीको बुटवलमा कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँची ढाकाबाङ–रुपन्देही सम्पर्क समाजले २०८१ भदौ १६ गते आइतबार बुटवल–१३ बेलवासमा सो कार्यक्रम गरेको हो ।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ (साविक ढाकाबाङ) गाविसमा स्थायी ठेगाना भई हाल विभिन्न सिलसिलामा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा बसोबास गर्ने र ढाकाबाङ गाविसमा माइत, मावल, ससुराली हुनेहरूबिच सामूहिक रूपमा दर खाएर ढाकाबाङकै झल्को मेटिने गरी मादललगायतका बाद्यवादनको प्रयोग गरी सो कार्यक्रम सम्पन्न भएको थियो ।

उपस्थित महिलामध्ये सबैभन्दा ज्येष्ठ महिला थानेश्वरी खनालले मौलिक तिजको गीत गाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
समाजका सदस्य तथा कार्यक्रम संयोजक शान्ता खनालको अध्यक्षता, सदस्य एनिसा बन्जाडेको सञ्चालन, सदस्य दुर्गा आचार्य (खनाल) को स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियो ।
समाजका अध्यक्ष कृष्णप्रसाद खनालले पनि कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष लक्ष्मण बेलवासे, धारापानी–रुपन्देही सम्पर्क मञ्चका महासचिव सन्तोष बन्जाडे, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा, धनचौर रुपन्देही सम्पर्क समाजका प्रतिनिधिलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा दुई सयभन्दा बढीको सहभागिता रहेको थियो ।
