बागलुङबजार । अखिल नेपाल शिक्षक सङ्घ बागलुङले आगामी मङ्सिर ७ र ८ गते जिल्ला परिषद् सम्पन्न गर्ने भएको छ ।
जिल्ला समितिको यही २०८१ भदौ ७ र ८ गते काठेखोला–४ तङ्ग्राममा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष मित्रदत्त ढकालले दिनुभएको जानकारीअनुसार बैठकले आगामी असोज ३, ४ र ५ गते बुटवलमा आयोजित राष्ट्रिय परिषद् बैठक सफल पार्न आवश्यक तयारी गर्ने निर्णय गरेको बताइएको छ ।
त्यस्तै, नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको उपमहासचिव र सदस्यमा क्रमशः पुष्कर सापकोटा र सुनमाया ढकाल मनोनित हुनुभएकोमा धन्यवाद ज्ञापन गरिएको अध्यक्ष ढकाले बताउनुभयो ।
एवम् प्रकारले २०८० सालको एसइईमा शतप्रतिशत उत्तीर्ण गराउन सफल बिजुवा मावि जैमिनी–९ पैयुँका प्रअ सतिदेवी थापा र कक्षा १२ को वार्षिक परीक्षा–२०८० मा शतप्रतिशत उत्तीर्ण गराउन सफल धारा मावि तङ्ग्रामका प्रअ कमला थापालाई धन्यवाद तथा बधाई ज्ञापन गर्ने निर्णय भएको जानकारी दिइएको छ ।