काठमाडौँ । प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिको आयोजनामा “सांस्कृतिक रूपान्तरण र तिज पर्व” विषयक चौहत्तरौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
२०८१ भदौ ७ गते शुक्रबार सङ्घको बागबजारस्थित केन्द्रीय कार्यालयमा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा साहित्यकार तथा समालोचक सीता शर्माले विषयवस्तुमाथि आफ्नो प्रस्तुती दिनुभएको थियो ।
परिसंवादमा आफ्नो धारणा राख्दै साहित्यकार शर्माले उत्पादनको अवधिमा नै भौतिक तथा आत्मिक संस्कृतिको निर्माण हुने बताउँदै तिजको संस्कृति पुरुषले आफ्नो स्वार्थअनुरूप निर्माण गरेको बताउनुभयो ।
कुनै पनि चाडपर्व मनाउँदा त्यो चाडले कसको विचार बोकेको छ ? कसको स्वार्थ पूरा गरेको छ ? लगायतका प्रश्नहरूको मन्थन गरिनुपर्ने बताउँदै समालोचक शर्माले संस्कृतिको नाममा विकृति बोकिएको छ भने त्यसलाई त्याग्नु नै उत्तम हुने बताउनुभयो ।

परम्परागत चाडपर्वहरू ठुला सामन्त तथा राजामहाराजाको स्वार्थअनुरूप निर्माण गरिएको र त्यसलाई धार्मिक तथा रूढीवादको लेप लगाइएको उहाँको धारणा थियो ।
‘तिज पर्व सामन्ती शोषणमा आधारित रहेको र त्यहाँ पुरुषलाई सर्वोच्च सत्ताको रूपमा स्वीकार गरिन्छ । कसैलाई शिरको स्वामी र कसैलाई पाउको धुलो मान्नु जस्तो मान्यताका आधारमा पनि यो पर्वमा चरम विभेद भएको पुष्टि हुन्छ’ उहाँले भन्नुभयो– ॅवैचारिक तथा सांस्कृतिक सचेतनाले मात्र यस प्रकारको विकृति तथा विसङ्गतिको अन्त गर्न सकिन्छ ।’
प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा सम्पन्न परिसंवाद कार्यक्रमको सञ्चालन सङ्घकी उपाध्यक्ष नमुना शर्माले गर्नुभएको थियो भने विषयवस्तुको बारेका परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट पार्नुभएको थियो ।
कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा डा. कौशिला रिसाल, रामदेव पाण्डे, शशिराम कार्की, गणेशा कार्की, धनबहादुर रोकाया, कमला केसी, डा. हरिप्रसाद सिलवाल, सृजना सरोवर, जगत् वाशिष्ट, नानीमैया अधिकारी, समीर सिंहलगायत हुनुहुन्थ्यो ।
