दमौली (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बर प्लेटको बस मस्याङ्दी नदीमा खसेको थियो ।
तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार बसमा भारतीय यात्रु सवार थिए । बसमा ४१ यात्रु रहेको बताइएको छ ।
अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घटनास्थलमा यात्रुको उद्धार गरिरहेको छ । यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घटनास्थलमा परिचालन गरिनुका साथै उनीहरूलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
अप्ठ्यारो भिरि भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको उनले बताए । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।