बागलुङबजार । बागलुङको काठेखाला गाउँपालिका–४ तङ्ग्रामस्थित धारा माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ ।
२०८१ भदौ ३ गते सोमबार कक्षा ८ र १० को परीक्षाको नतिजा तुलना, विश्लेषण र सिकाइ उपलब्धि वृद्वि गर्नेबारे छलफल तथा नयाँ योजना निर्माणसँगै सो भेला सम्पन्न भएको हो ।

भेलाको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बागलुका प्रमुख अमरबहादुर थापा हुनुहुन्थ्यो ।
सो अवसरमा मन्तव्य राख्दै थापाले सफलता प्राप्त गर्ने ठुला नभएको, त्यसलाई निरन्तरता दिन गाह्रो कुरा भएको धारणा राख्नुभयो ।
विद्यार्थीको सफलता प्राप्त गर्ने कार्यमा विद्यार्थी, अभिभावक र शिक्षकको सक्रिय भूमिका महत्त्वपूर्ण रहने पनि उहााले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा शिक्षक–अभिभावक सङ्घका संयोजक टीकासङ्गम विकले विद्यार्थीको सिकाइलाई व्यावहारिक बनाउनु अनिवार्य भएको र यस कार्यमा अभिभावक पनि जोडिनुपर्ने धारणा राख्नुभयो ।

भेलामा कक्षा ८ का कक्षाशिक्षक भीम विक र कक्षा १० का कक्षाशिक्षक नरबहादुर पच्याले आफ्नो कक्षाको रिपोर्ट र सुधारका बारेमा सुझाव प्रस्तुत गर्नुभएको भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला थापाले अभिभावकको जिज्ञासा व्यवस्थापन गर्दै असल अभिभावक, असल शिक्षक र असल प्रशासक बन्न सुझाव दिनुभयो ।

विद्यालयका आर्थिक समितिका संयोजक थिरबहादुरको अध्यक्षतामा, शिक्षक भीमबहादुर विकको स्वागत र नरबहादुर पच्याको सञ्चालनमा सो भेला सम्पन्न भएको थियो ।
