काठमाडौँ । साफ यू–२० च्याम्पियसिपमा नेपालले विजयी सुरुआत गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा २०८१ भदौ २ गते आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपमा विजयी सुरुआत गरेको हो ।
पहिलो हाफमा निराजन धामीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो । खेलको चौबिसौँ मिनेटमा निराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुआती अग्रता बनाएको हो ।
श्रीलङ्काका गोलरक्षकसहित ७ खेलाडीलाई बिट गर्दै गरेको निराजनको सशक्त प्रहारले पोस्टको जाली चुमेको थियो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले जित हात पारेको हो ।
खेलको दोस्रो हाफमा नेपालले अग्रता बनाउने मौका पाएप नि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता फराकिलो पार्ने मौका गुमायो । जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूह चरणको दोस्रो खेलमा नेपालले बिहीबार बङ्गलादेश विरुद्ध खेल्ने तालिका छ ।
लिगमा भोलि सोमबार समूह बी को पहिलो खेलमा भारत र भुटान खेल्ने छन् । सो खेल यही मैदानमा दिउँसो ३ बजे हुने छ ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा बङ्गलादेश र श्रीलङ्का छन् । समूह बी मा भारत, मालदिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।