काठमाडौँ । प्रकृतिका रमणीय दृश्यबाट रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले सातौँ पदयात्रा सम्पन्न गरेको छ ।
२०८१ भदौ १ गते शनिबारका दिन कागेश्वरी मनहरा नगरपालिकाको कौवापार्क देखि कागेश्वरी झरना हुँदै सुन्दरीजलसम्म सो पदयात्रा सम्पन्न भएको हो ।
पदयात्रामा १६ जना स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
पदयात्रामा निरन्तर सहभागी हुँदै आएकी सात वर्षीया सान्वी जोशीले कविता पनि गरेकी थिइन् । उनी भन्छिन्– ‘यात्रा एकदमै रमाइलो भयो । अलि अलि थकाइ लागे पनि यहाँको प्रकृतिसँग रमाउँदा एकदमै आनन्दित भएकी छु ।’
नयाँ तथा पुराना स्रष्टालाई प्रगतिशील साहित्यिक आन्दोलनमा उत्प्रेरित गर्ने उद्देश्यका साथ सञ्चालित पदयात्रामा कविता, गीत, यात्रा संस्मरण, साहित्यिक आन्दोलनको महत्त्वलगायतको विषयमा प्रस्तुति दिइएको थियो ।
पदयात्रामा समीर सिंह, भीष्म जोशी, मेष्मा पुन, कविता चौधरी, मदन पाण्डे, समष्टि बुढा, ईश्वरी भट्ट, ध्रुव बस्याल, गोविन्द शर्मा, किरण थापा, कुसुम राना, रन्जु थापामगर, युग सर्वनाम, रविन पुनमगर, टोपेन्द्र रानामगरलगायतको सहभागिता थियो ।
स्मरण रहोस्, सगरमाथाको चुचुरोमा पुगेकी ईश्वरी भट्ट साहित्यिक पदयात्रामा निरन्तर रूपमा सहभागी हुँदै आएकी छिन् ।
काठमाडौँ उपत्यकाको धुलोधुवाँमा बस्न बाध्य स्रष्टाहरू कागेश्वरीको रमणीय दृश्यमा रमाउँदा सबैलाई उत्साहित बनाएको थियो ।
प्राकृतिक सौन्दर्यमा रमाउँदै यस प्रकारको पदयात्रालाई अझ व्यवस्थित तथा उपलब्धिमूलक तरिकाले अगाडि बढाउनुपर्ने सृष्टाहरूको ठहर थियो । यस प्रकारको रचनात्मक गतिविधिका साथ सिर्जना र विचारबिचको संयोजनलाई अझ सशक्त प्रकारले अगाडि बढाउनुपर्ने उनीहरूले बताए ।
