जगदीश ढकाल, नेपालगञ्ज ।
नेपालगञ्जको कोहलपुरमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेसले पार्टी कार्यालयको नाममा जमिन बाँड्न थालेपछि विरोध भएको छ ।
राष्ट्रिय जनमोर्चासहितका आठ राजनीतिक दलले २०८१ साउन ३० गते संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै सो कार्यको विरोध गरेका हुन् ।
प्रेसवक्तव्यमा एमाले र काङ्ग्रेसले कोहलपुरमा सार्वजनिक जग्गा प्रतिष्ठानको नाममा पार्टी कार्यालय स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको बताइएको छ ।
वक्तव्यका उनीहरूले भनेका छन्– “प्रतिष्ठानको नाममा पार्टी कार्यालय बनाउन सत्तासिन दुई पार्टी नेपाली काङ्ग्रेसले तेह्र बिगाहमा र नेकपा (एमाले) ले प्रेमनगरमा दुवै पार्टीका सङ्घ तथा प्रदेशका माननीयज्यूहरू, पार्टीका जिम्मेवार नेताहरूको रोहबरमा तीनरतीन कट्ठा जग्गा गोला प्रथा प्रणालीबाट बाँडफाँड गर्ने गरी प्रक्रिया अगाडि बढाएको सुन्नमा आएको र सो सम्बन्धमा तपसिलका राजनीतिक दललाई ध्यानाकर्षण भई कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख एवम् नेपाली काङ्ग्रेसका नगर सभापतिसँग छलफल गर्दा सो प्रक्रिया अगाडि बढेको भन्ने स्वीकारोक्ति धारणा आएकाले यस प्रकारका महत्त्वपूर्ण सार्वजनिक जग्गा सत्ताको आडमा बाँडफाँड नगर्न जोडदार माग गर्दछौँ ।”
उनीहरूले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि कोहलपुर नगरपालिकासित हातेमालो गर्न तयार रहेको पनि स्पष्ट गरेका छन् ।
वक्तव्यमा राजमोका तिलकराज पौडेल, नेकपा (माओवादी केन्द्र) का अवराज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका गङ्गा पोख्रेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका भुम भण्डारी, नेकपा (एकीकृत समाजवादी) का शिवप्रसाद डाँडी, नेपाल मजदुर किसान पार्टीका शेरबहादुर शाही र राप्रपा नेपालका यज्ञराज रेग्मीको हस्ताक्षर रहेको छ ।
