काठमाडौँ । रक्तिमका महासचिव हेमराज आश्रमले शास्त्रीय सङ्गीतसम्बन्धी प्रस्तुति दिनुभएको छ ।
कपनस्थित सङ्गीत सरोवरको २१५ औं श्रृङ्खलामा शनिबार सरोवरको कार्यालय परिसर कपन हाइटमा सम्पन्न मासिक कार्यक्रम अन्तर्गतको नियमित श्रृङ्खलामा आश्रमले प्रस्तुति दिनुभएको हो ।
झण्डै एक घण्टाको प्रस्तुतिमा उहाँले खयाल गायन शैलीमा राग केदार प्रस्तुत गर्नुभएको थियो ।
आश्रमलाई तबलामा अनन्त प्रजापती, वेलामा यतीराज अधिकारी, हारमोनियममा इन्द्रबि मल्ल र तानपुरामा रुपक भटराइले साथ दिनु भएको थियो ।
उहाँको पहिलो प्रस्तुति उडि जाने पंक्षी वोलमा बडा ख्याल दिनुभएको थियो भने त्यसपछी तन भित्र मन भित्र राख, बुद्धको देश नेपाल बोलमा छोटा ख्याल प्रस्तुत गर्नुभएको थियो र अन्तिममा दु्रत लयमा तराना प्रस्तुत गर्नुभएको थियो ।
कपन सङ्गीत सरोवरको आयोजना भएको उक्त कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, माननीय चित्रबहादुर केसी, पूर्व माननीय दुर्गा पौडेल, पूर्व माननीय पियारी थापा, बुढानिलकण्ठ नगरपालिकाका कार्यबाहक प्रमुख अनिता लामा, नेपाल शास्त्रीय सङ्गीत समाज नेपालका उपाध्यक्ष तथा सास्त्रीय सङ्गीतका वरिष्ठ बासुरी वादक जिवन आले, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सचिव प्रगती महरा, अन्पाका अध्यक्ष समीर सिंह, जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम खुमाखी, वरिष्ठ जनवादी स्रजक श्याम तमोट, सामना परिवारका संयोजक आरोह नेपाली, राजमो नेताहरू मधु क्षेत्री, घनश्याम न्यौपाने, रामकुमार क्षेत्री, रक्तिमका वन्दना विक तथा शास्त्रीय सङ्गीतका साधक तथा अनुयायीहरूको उपस्थिति रहेको थियो ।


