टेकराज भुसाल, बुटवल ।
रुपन्देहीको सैनामैनामा प्लस टू उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको आयोजनामा २०८१ साउन २६ गते शनिबार सम्पन्न उक्त कार्यक्रम प्लस टू पछि पढ्ने विषयमा आधारित रही विद्यार्थीलाई कानुनी काउन्सिलिङ गरिएको थियो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्रप्रसाद शर्माले राजनीति गर्ने व्यक्तिले पनि कानुन बुझेको हुनुपर्ने, कानुनको अभावमा सही र गलत छुट्टाउन नसकिने हुँदा कानुनको क्षेत्रमा भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

त्यस्तै, सैनामैना नगरपालिका वडा नं .६ का वडा अध्यक्ष गोपालप्रसाद पोख्रेलले कानुन र समाज एकार्काका परिपूरक रहेको उल्लेख गर्दै यसको पालना सबैले गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अधिवक्ता लालबहादुर बस्नेत, बद्रिप्रसाद गौतम, मेघनाथ खनाल, सिटी क्याम्पसका प्रमुख फडिन्द्रकुमार न्यौपाने, क्याम्पसका बी.टी.टी.एम. विषयका कोअर्डिनेटर अरुण सिंहलगायतले बोल्दै कानुन पढेको विद्यार्थीमा मिहिनेत गर्ने बानीको विकास धेरै हुने भएकाले उनीहरूले भविष्यमा के गरौँ, के नगरौँ भनेर विषयमा भौतारिनुनपर्ने तथा सामाजिक, राजनीतिक एवम् वैचारिक रूपमा शक्तिशाली बन्न सक्ने क्षमता हुने बताउनुभएको थियो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी विजय सुनारले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन शङ्कर भुसाल र स्वागत मन्त्वय नवीन पौडेलले गर्नुभएको थियो ।