काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काभा महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीले नगदसहित सम्मान गरेको छ ।
२०८१ साउनन २४ गते बिहीबार एक कार्यक्रम आयोजना गरी महानगरले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई सम्मान गरेको हो ।
त्यस अवसरमा खेलाडीलाई जनही एक लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, सङ्गम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् ।
खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । त्यस्तै, लोकेन्द्रबहादुर कुँवर थेरापिस्ट हुन् ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए ।
‘तपाईंहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन’ उनले भने– ‘उपविजेता टोलीले हामी जस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यान आकर्षण भएको छ । यो विषय छुटेको महसुस गराएको छ ।’
त्यस्तै, नगरउपप्रमुख सुनिता डङ्गोलले उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन् ।
सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एसियाली मुलुकहरूमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख बताए ।
त्यस्तै, टिम क्याप्टेन अरुणा शाहीले राम्रो खेल्ने टिमबाट धेरै कुरा सिक्ने अवसर पाएको बताइन् ।
काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । खेलमा पाँचओटा देश सहभागी थिए ।