कोलकाता । विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएको बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् ।
हसिनाको निष्काशनपछि मुस्लिम बहुल बङ्गलादेशका केहीले उहाँसँगको निकट सम्बन्धको आशङ्कामा हिन्दुहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरमा आक्रमण गरेका थिए ।
‘सयौँ बङ्गलादेशी नागरिक प्रायः हिन्दु, बङ्गलादेशसँगको भारतको सिमानामा भेला भएका छन्’ भारतको सीमा सुरक्षा बल (बिएसएफ) का उपमहानिरीक्षक अमितकुमार त्यागीले बताउनुभयो ।
पश्चिम बङ्गाल राज्यको भारतीय सीमाक्षेत्रको अन्तिम विन्दुमा २०० जना र पश्चिम बङ्गाल राज्यको जलपाइगुडी जिल्लामा ६०० भन्दा बढी भेला भएका त्यागीले बताउनुभयो ।
‘दुई देशबिचको सीमामा कुनै पर्खाल नभएका कारण बिएसएफका जवानले भिडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सीमाक्षेत्रबाट भिड पन्छाउन हवाई फायर गरेका थिए’ उहाँले भन्नुभयो ।
सन् २००९ देखि सत्तामा रहनुभएका ७६ वर्षीया हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिनुभएको हो । त्यसपछि बङ्गलादेशको सुरक्षास्थितिमा सुधार भएको छ तर उहाँका समर्थक र पार्टीका अधिकारीमाथि आक्रमणको खबर आएको छ ।
बङ्गलादेश हिन्दु, बौद्ध, क्रिस्चियन, युनिटी काउन्सिलले यस हप्ताको सुरुमा सोमबार कम्तीमा १० ओटा हिन्दु मन्दिरमा आक्रमण गरिएको बताएको थियो । (रासस/एएफपी)