मेक्सिको सिटी । मेक्सिकोस्थित युक्रेनी दूतावासले रुसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ ।
पुटिनलाई युद्ध अपराधमा संलग्न रुसी नेताको रूपमा सङ्ज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा हुने शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई निमन्त्रणा दिएकोमा मेक्सिकोलाई पनि धन्यवाद दिएको छ ।
युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “हामीलाई विश्वास छ, मेक्सिको सरकारले कुनै पनि अवस्थामा अन्तर्राष्ट्रिय पक्राउ पुर्जीको पालना गर्ने छ र पुटिनलाई हेगस्थित संयुक्त राष्ट्र सङ्घको न्यायिक निकायलाई हस्तान्तरण गर्ने छ ।
मार्च २०२३ मा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आई.सी.सी.) ले सन् २०२२ को सुरुमा मस्कोको आक्रमणपछि युक्रेनी बालबालिकालाई जबर्जस्ती रुसमा निर्वासित गरेको विषयमा युद्ध अपराधको आरोपमा पुटिन विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सेनबामका विदेशमन्त्री जुआन रामोन डे ला फुएन्टेले मेक्सिकोसँग कूटनीतिक सम्बन्ध भएका हरेक देशका नेतालाई उद्घाटन समारोहमा आमन्त्रण गर्नु मानक प्रोटोकल भएको बताएका छन् ।
मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न लागेकी सेनबामले गत जुन २ मा भएको आम निर्वाचनमा ऐतिहासिक जित हासिल गर्नुभएको थियो ।
उहाँलाई बधाई दिने विश्वका नेताहरूको पङ्क्तिमा पुटिन र जेलेन्स्की पनि रहेका छन् । (रासस/एएफपी)