काठमाडौं । बंगलादेशबाट शेख हसिनाको सत्तावसानपछि त्यहाँका अल्पसङ्ख्यक हिन्दूहरू निसानामा पर्न थालेका छन् । हिन्दू धर्म मान्ने व्यक्तिका घरमा पसेर तोडफोड तथा लुटपाट र उनीहरूमाथि कुटपिट भएका विवरणहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।
बंगलादेश इस्लामिक गणतन्त्र हो। विपरीत आस्था भएका मानिसहरू बेलाबेलामा अतिवादीहरूको आक्रमणमा पर्ने गरेका छन्। हिन्दू अल्पसङ्ख्यकहरूलाई धर्मनिरपेक्षताको पक्षमा उभिएकी शेख हसिनाको दल अवामी लीगको समर्थक मान्ने गरिन्छ।
शेख हसिना देशबाट भागेपछि सामाजिक सञ्जालमा हिन्दूहरूको धनसम्पत्ति र मन्दिरहरूमा आक्रमण गरिएका कैयौँ विवरणहरू राखिएका छन्।
तर मुस्लिम युवाहरूका समूहहरूले पनि हिन्दूका घर र मन्दिरहरूमा थप क्षति हुन नदिन सुरक्षा दिएका बीबीसीले उल्ल्ेख गरेको छ।
यसअघि सन् १९९२ मा हिन्दूहरूको एउटा भिडले अयोध्यास्थित बाबरी मस्जिद भत्काइदिएपछि पनि बंगलादेशका अल्पसङ्ख्यकहरू निसानामा परेका थिए। त्यसयताका दशकमा हिन्दूहरूमाथि कैयौँ धार्मिक आक्रमणहरू भएका छन्।
एउटा बंगलादेशी मानवाधिकार समूह ‘ऐन ओ सलिश केन्द्र’ले सन् २०१३ को जनवरीदेखि सन् २०२१ को सेप्टेम्बरसम्म हिन्दू समुदायमाथि कम्तीमा ३ हजार ६७९ पटक आक्रमण भएको जनाएको छ। त्यसमा तोडफोड, आगजनी र योजनाबद्ध हिंसा पर्छन्।
सन् २०२१ मा सबैभन्दा हिन्दूहरूको सबभन्दै ठूलो चाड दुर्गापूजाअघि र पछि उनीहरूका निवास र मन्दिरमा विभिन्न समूहले आक्रमण गरेका थिए।
त्यस बेला अधिकारवादी संस्था एम्नेस्टी इन्टर्न्याश्नलले भनेको थियो, ‘बारम्बर हुने यस्तो व्यक्तिमाथिको आक्रमण, सामुदायिक हिंसा र अल्पसङ्ख्यकहरूका घर र पूजा गर्ने ठाउँमा वर्षौदेखि हुँदै आएका क्षति पुर्याउने गतिविधिले राज्य अल्पसङ्ख्यकहरूलाई सुरक्षा दिन विफल रहेको देखाउँछ।’
मुस्लिम युवाले गरे मन्दिरको सुरक्षा
ढाकाबाट २०० किलोमिटर उत्तर शेरपुर जिल्लामा भिडले हिन्दूहरूका घरमा लुटपाट गर्यो। तर सकारात्मक कुरा के थियो भने हिंसा फैलिएको खबर आएपछि स्थानीय मुसलमानहरूले हिन्दूका घर र मन्दिरबाहिर पहरा दिन सुरक्षा घेरा बनाएका थिए।
‘यो बंगलादेशमा सबैतिर छ। मुसलमानहरूले हिन्दूहरूको घर तथा भवनलाई पनि सुरक्षा दिएका छन्,’ एक हिन्दूर युवा अभिरूप सरकारले बीबीसीसँग भनेका छन्, ‘यो डरलाग्दो समय हो। शान्ति र सुव्यवस्था छैन। र हामी फेरि निसानामा परिरहेका छौँ ।’