ढाका । बङ्गलादेशमा सेनाले अन्तरिम सरकार बनाउने भएको छ ।
प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएसँगै बङ्गलादेशका सेनाप्रमुख वाकरउज जमानले अगस्त ४, २०२४ सोमबार सो जानकारी दिएका हुन् ।
प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएकी हुनु ।
उनी आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानतर्फ गएकी छिन् ।
‘प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्ने छ’ सेनाप्रमुखले भने ।
कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आफै गर्ने वा अन्य कसैलाई जिम्मेवारी दिइने छ भन्ने विषयमा भने उनले केही बताएनन् ।
बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेनाप्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका हुन् ।
‘देशले धेरै क्षति व्यहोरेको छ; अर्थतन्त्र प्रभावित भएको छ; धेरै मानिस मारिएका छन्: अब यो हिंसा रोक्ने समय हो’ वाकरले भने– ‘मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउने छ ।’
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको पर्यवेक्षकहरू बताउँछन् ।
आन्दोलनका क्रममा आइतबार ९० जनाभन्दा बढीको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् । (रासस/एएफपी)