• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कोरोना पछिको संकट नेपाललाई आत्मनिर्भर बनाउने अवसर हुनेछ (अन्तर्वार्ता)


  •   आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल)

    Advertisement

    लकडाउनको समयलाई यहाँले कसरी सदुपयोग गर्नुभएको छ ?
    लकडाउनको समयमा मैले विभिन्न माध्यमहरुद्वारा पार्टीका साथीहरुसँग नियमित सम्पर्क गर्ने प्रयत्न गरेको छु । इलेक्ट्रोनिक माध्यमबाट पार्टी बैठकहरु सञ्चालन गर्ने र विभिन्न स्थानका साथीहरुसँग सम्पर्क स्थापित गर्ने तथा राजनीतिक विषयहरुमा वक्तव्यमार्फत पार्टीको धारणा स्पष्ट पार्ने काम गर्दै आएको छु ।

    त्यसको साथै आफ्ना केही बाँकी रहेका साहित्यिक कामलाई पनि पुरा गर्ने प्रयत्न गरिरहेको छु ।

    यहाँको बहुप्रतिक्षित उपन्यास ‘जलजला’ कहिलेसम्म पाठकले पढ्न पाउँछन् ?
    लकडाउनको स्थितिमा मैले त्यसलाई पनि पुरा गर्ने प्रयत्न गरेको छु । जलजला जम्मा ८ भागमा छ । त्यसमध्ये चार भाग पुरा भइसकेको छ र अब प्रुफ हेरेर फाइनल गर्ने काम मात्रै बाँकी छ । बाँकी चार भाग पनि टाइप भइरहेको छ ।
    टाइप गर्ने र प्रुफ रिडिङ गरेर सबै फाइनल गर्न २/३ महिना जति लाग्छ होला । मैले अहिलेकै अवस्थामा यसलाई पुरा गर्ने प्रयत्न गरिरहेको छु ।

    अहिले राजनीतिक गतिविधिहरु प्रायः निस्तेज छ । लकडाउन खुलेपछि नेकपा (मसाल) ले के कस्ता कार्यक्रम अघि बढाउने योजना बनाएको छ ?
    पार्टीको काम अहिले त्यति हुन सकेको छैन । साथीहरुसँग प्रत्यक्ष सम्पर्क हुन सकेको छैन । तैपनि हामीले भिडियो कन्फरेन्समार्फत पिवि र क्षेत्रीय कमिटि तथा अन्य विभिन्न तहका बैठक बसाल्ने र छलफल गर्ने काम गरिरहेका छौं । त्यसकारण अहिले पार्टीको काम पुरै बन्द भएको छ भन्ने होइन ।

    अहिले हाम्रा कतिपय कार्यक्रमहरु रोकिएका छन् । लकडाउनको स्थिति सामान्य भएपछि हामीले केन्द्रीय कमिटिको बैठक बोलाउनेछौं । त्यो बैठकले रोकिएका कार्यक्रमलाई अघि बढाउने र थप नयाँ कार्यक्रम बनाउनेछ । हाम्रो संगठनात्मक काम, प्रशिक्षणका कार्यक्रम, विभिन्न स्तरका भेला, सम्मेलन, आर्थिक अभियानलगायतका योजना बनाएर अघि बढ्नेछौं ।

    कोरोनाको असरसँगै वैदेशिक रोजगारीमा गएका लाखौं युवा स्वदेश फर्कने अवस्था आएको छ । यसले हाम्रो आर्थिक–सामाजिक संरचनामा के कस्तो असर पार्छ होला ?
    त्यसका दुईवटा परिणामहरु निश्चित छन् । पहिलो, देशमा आउने रेमिट्यान्स, जो ठुलो धनराशी हो, त्यो बन्द हुनेछ । त्यसले देशको अर्थतन्त्रलाई धेरै नै कमजोर पार्नेछ ।

    दोस्रो, अहिले कोरोना भाइरसले विश्वव्यापी पारेको आर्थिक मन्दीले विश्वमै धेरै जनाको रोजगारी समाप्त हुनेछ । त्यसले संसारका धेरै भागमा गएका नेपाली रोजगारी गुमाएर नेपालमा आउनुपर्नेछ । लाखौंको संख्यामा नेपालीहरु स्वदेश फर्कनेछन् । त्यसले देशमा बेरोजगारीको समस्या गम्भीर हुनेछ । यसले गर्दा हामीलाई आर्थिक समस्या पैदा गर्नेछ । त्यो स्थितिमा सरकारले बेरोजगारी समस्या समाधान गर्न र आर्थिक समस्या हल गर्न प्रयत्न गर्नुपर्दछ ।

    तर, अहिलेको यो सरकारको कार्यशैली हेर्दा ति समस्याप्रति गम्भीर बनेर समाधानका लागि प्रयत्न गर्नेछ भन्ने आशा कमै गर्न सकिन्छ । सरकारको कार्यशैलीका कारण सम्भावित आर्थिक संकटबाट पार पाउन कुशलतापूर्वक काम गर्नेछ भनेर विश्वास गर्ने ठाउँ छैन ।

    धेरै ठुलो संख्यामा विदेशबाट नेपालीहरु देशमा आएपछि रोजगारी सिर्जना गर्नका लागि वा आर्थिक समस्या हल गर्न दबाब दिनका लागि जनताले आन्दोलन गर्नुपर्ने हुन्छ । लाखौं लाख नेपालीको आर्थिक समस्या हल गर्न उनीहरु आन्दोलित हुनै पर्दछ । बेरोजगारीको स्थितिमा सुधार ल्याउन, आर्थिक संकट हल गर्न र सरकारका जनविरोधी गतिविधिविरुद्ध जनदबाव सिर्जना गर्न आन्दोलनबाटै हामीले सरकारलाई बाध्य पार्न सक्छौं ।

    यसले विश्वव्यापी रुपमा देखा परेको कोरोना भाइरस संक्रमण पछिको अवस्थाले नेपालका लागि अभिषाप नभएर बरदान सावित हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

    लकडाउनमा सिमानामा थुनिएर बसेका नेपाली र देशभित्रैका मजदूरहरुको पनि बिजोग देखियो । चौतर्फी दबाबका बावजुद सरकार आफ्ना नागरिकप्रति पुरै गैरजिम्मेवार बन्यो । विश्वभर छरिएर रहेका नेपालीको व्यवस्थापन होला भनेर कसरी आशा गर्ने ?
    कोरोना भाइरसका कारणले विभिन्न स्थानमा नेपालीहरु रोकिएका छन् । भारतीय सीमामै करिब दुई हजार नेपाली रोकिएका थिए । हामीले सुरुदेखि नै उनीहरुलाई नेपाल ल्याउन जोड दिएका थियौं । सरकारले त्यसमा ध्यान दिएको थिएन । उनीहरु एक महिना भन्दा बढी समयसम्म भारतीय सीमामा रोकिएर बस्नुपर्यो । तर, ढिलै भएपनि प्रदेश वा स्थानीय तहले पहल गरेर उनीहरुलाई स्वदेश भित्र्याएका छन् । हामीले त्यो कार्यको स्वागत गरेका छौं । यो काम धेरै पहिले नै हुनुपर्थ्यो ।

    हामीलाई प्राप्त सूचना अनुसार कतिपय भारतीय सीमामा रोकिएका नेपालीलाई अझै पनि नेपाल आउन दिइएको छैन । उनीहरुलाई छिटै नेपाल ल्याउन सरकारले ध्यान दिनुपर्छ । यसप्रकारको नीतिका लागि केन्द्र सरकार नै जिम्मेवार छ ।
    ति नेपालीलाई खुला र अनियन्त्रित रुपले नेपाल ल्याउनुपर्छ भन्ने होइन । उनीहरुको कोरोना भाइरसको स्वास्थ्य जाँच गरेर नेपाल ल्याउने हो । यहाँ ल्याएर आवश्यकता अनुसार उनीहरुलाई क्वारेन्टिनमा राख्नुपर्छ । सरकारले नेपालीहरुलाई अनावश्यक रोक्ने काम गर्यो, त्यसको हामीले विरोध गर्दछौं ।

    ठिक त्यसै गरेर काठमाडौंमा वा प्रदेशको राजधानी र नेपालका विभिन्न भागहरुमा नेपालीहरु रोकिएका छन् । कैयौं मजदुरहरु बेखर्ची भएका छन् । विद्यार्थीहरु भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । हामीले सुरुदेखि नै उनीहरुलाई आ–आफ्नो जिल्लामा लैजाने व्यवस्थाका लागि माग गर्दै आएका छौं । सरकाले त्यो काममा पनि ध्यान दिएन ।

    त्यसरी रोकिएका नेपालीहरु आफैँ पनि पैदल हिँडेर घर जान तयार भए, तर बिचमा रोक्ने प्रयास पनि भयो । तर, ति कष्टपूर्ण तरिकाले आफ्नो गाउँ पुगे । अझै पनि कैयौं मानिसहरु राजधानी वा अन्य स्थानमा रोकिएर बस्न बाध्य छन् । उनीहरुप्रति सरकारले जुन नीति अपनायो त्यसप्रति हामीले विरोध गरेका छौं ।

    समस्या त्यो भन्दा अर्को पनि छ । भारतमा औपचारिक वा अनौपचारिक क्षेत्रमा काम गर्ने नेपालीहरुको ठुलो संख्या छ । उनीहरुको काम बन्द भयो, आयस्रोत रोकियो । अब उनीहरु बेखर्ची भएर बस्न बाध्य भएका छन् । तिनिहरुप्रति अन्तर्राष्ट्रिय नियम अनुसार अथवा विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार सम्बन्धित देशका सरकारहरुले ध्यान दिनुपर्छ । भारतमा त्यसरी छरिएर रहेका नेपालीहरुलाई भारत सरकारले ध्यान दिएको छैन । त्यसकारण उनीहरुको व्यवस्थापनका लागि सरकारको ध्यान जान जरुरी छ । नेपाल सरकारले उनीहरुलाई या त त्यहीँ राम्रोसँग खानपिनको व्यवस्था मिलाउनु पर्यो या त नेपाल ल्याउनुपर्यो ।

    यी त तात्कालिक समस्याहरु हुन् । त्यो बाहेक स्पष्ट छ, लकडाउनको स्थिति सधैँ रहनेछैन । ढिलो छिटो यसलाई खुला गर्नु नै पर्नेछ । त्यो अवस्थामा लाखौं नेपालीहरु आउने क्रम बढ्नेछ । अहिले पनि विभिन्न देशमा रहेका नेपालीहरु सम्बन्धित देशले ध्यान नदिँदा अप्ठ्यारोमा परेका छन् । कतिपय देशका सरकारहरुले नेपालीहरुलाई हटाउने प्रयत्न गरेका छन् । जस्तो अमेरिकाले विदेशी आप्रवासीहरु सबैलाई हटाउने प्रयत्न गरेका छ । अरु कैयौं देशले पनि त्यो नीति अपनाएका छन् ।

    यी सबै पक्षमा सरकारको ध्यान जानुपर्ने आवश्यकता छ । सरकारले मानवीय र व्यवहारिक नीति अपनाउनुपर्दछ । यसमा गम्भीर भएर ध्यान दिन म सरकारसँग अपिल गर्दछु । संसारभर जहाँ रहेपनि नेपालीहरुलाई दुःख कष्ट हुन्छ, उनीहरु बेखर्ची भएर दुःख पाउँछन् भने उनीहरुको उद्धार गर्नु नेपाल सरकारको कर्तव्य हो ।

    कोरोना पछिको आर्थिक मन्दी र परनिर्भता कम गर्न कस्ता खाले योजना ल्याउनुपर्छ ?
    सबै भन्दा पहिले नेपालमा कृषि र उद्योगको विकास गर्नुपर्छ । नेपालमा कृषि उत्पादनको ठुलो क्षेत्र बाँझो छ । अर्को समस्या भनेको खेतीयोग्य जमिन प्लटिङ हुँदै शहरीकरण हुँदै गइरहेको छ । यसबाहेक नेपालको सामन्ती भू–स्वामित्वका कारण खेतीयोग्य जमिनको ठुलो हिस्सा केही व्यक्तिको हातमा छ । यो अवस्थामा सुधार गर्न जमिन बाँझो राख्न हुँदैन । खेतीयोग्य जमिन प्लटिङ हुनबाट रोक्नुपर्छ । जमिनमा सामन्ती स्वामित्वलाई कम गर्ने प्रयत्न गर्नुपर्दछ । खेती गर्ने किसानलाई जमिनको मालिक बनाउनुपर्ने आवश्यकता छ ।

    त्यसका साथसाथै उद्योग धन्दाको विकासमा पनि हामीले ध्यान दिनुपर्छ । बहुराष्ट्रिय कम्पनीहरुका कारण नेपालको उद्योगधन्दा विकास हुन सकेको छैन । हामीले धेरै सामान विदेशबाट आयात गर्ने र विदेशमै निर्भर पर्ने गरेका छौं । यहाँ परिचालन भएको अधिकांश पुँजी बहुराष्ट्रिय पुँजी नै हो । राष्ट्रिय पुँजीको विकास हुन सकेको छैन । त्यसकारण हामीले बहुराष्ट्रिय पुँजीलाई कम गर्दै हटाउँदै जानुपर्छ । राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ ।
    यसरी कृषि र उद्योग दुवैको विकासका लागि सरकारले ध्यान दिनुपर्छ ।

    तर, सरकारको देशभित्रका सामन्त, विदेशी दलाल तथा बहुराष्ट्रिय पुँजीपती वर्गसँग सम्झौतापरस्त नीतिका कारण यी सबै समस्यालाई सही प्रकारले हल गर्न सक्नेछ भन्ने कुरामा शंका नै छ । यस्तो अवस्थामा हामीले व्यापक जनचेतना र जनआन्दोलनका माध्यमबाट नै यो स्थितिलाई समाधान गर्न सकिन्छ ।

    हालै आईसीओआरको तर्फबाट जारी वक्तव्यमा यहाँले कोरोना भाइरस ‘पूजीवाद तथा साम्राज्यवादको उपज’ बताउनुभएको थियो, यसबारे थप ब्याख्या गरिदिनुहोस् न ।
    कोरोना मात्रै होइन, विश्वमा अरु कैयौं संकटहरुको जिम्मेवार साम्राज्यवाद हुन्छ । साम्राज्यवादले ठुलो मात्रामा प्रकृतिलाई दोहन गरेको छ । त्यसले अनेकौं रोगब्याधीलाई जन्म दिन्छ । साम्राज्यवादले जनताको स्वास्थ्यलाई त्यति ध्यान दिँदैन । राष्ट्रिय आम्दानीको ठुलो हिस्सा हतियार खरिदमा जान्छ या उच्च वर्ग र पुँजीपतिहरुको संरक्षणमा जान्छ । आम जनताको स्वास्थ्यको लागि त्यसले पर्याप्त ध्यान दिँदैन । उनीहरुको त्यसप्रकारको नीति पनि कोरोना भाइरस बढ्नुको कारण हो ।

    जस्तो, हामीले देखिरहेका छौं, अहिले युरोपियन देशहरुमा या अमेरिकामा कोरोनाले सबभन्दा बढी क्षति पुर्याएको छ । त्यसरी क्षति पुग्नुको कारण यो हो कि त्यहाँको सरकारले जनताको स्वास्थ्यमा त्यति ध्यान दिएको छैन । जनताको स्वास्थ्यको लागि उसले खासै खर्च गर्दैन । उनीहरुको बढी खर्च हतियारमा जान्छ र उच्च वर्गहरुको हितमा जान्छ । त्यसकारण कोरोना संक्रमण फैलनुमा साम्राज्यवाद र पुँजीवाद काफी हदसम्म जिम्मेवार छ ।

    समाजवादी वा साम्यवादी व्यवस्थामा पनि त यसखाले महामारी हुने सम्भावना रहन्छ नि होइन र ?
    हो, निश्चित रुपमा । मानिसको सृष्टिदेखि नै हामी प्रकृतिसँग लगातार संघर्ष गर्दै आउनुपरेको छ । कैयौं प्राकृतिक दुर्घटनाहरु हुन्छन् । भूकम्प आउँछ, तुफान आउँछ । त्यसको साथसाथै कैयौं रोगब्याधीहरु पनि आउँछ । विभिन्न रोगब्याधी हुनुको पछाडी प्राकृतिक कारणहरु हुन्छन् । पृथ्वीको गर्भमा, हावा पानीमा हुने कैयौं प्रकारका प्रदुषणका कारण रोगब्याधी उत्पन्न हुन्छन् । त्यसप्रकारको शिलशिला समाजवाद वा साम्यवादमा गए पनि बन्द हुन्छ भन्ने होइन ।

    तर, समाजवादी सरकारले जनताको स्वास्थ्यप्रति बढी ध्यान दिने हुनाले त्यसबाट पुग्ने क्षति धेरै नै कम हुन्छ ।

    अहिले सत्तारुढ दल नेकपाभित्रको झगडालाई कसरी हेर्नुभएको छ, उनीहरुबीचको अन्तरविरोधले नेपाली राजनीतिमा कस्तो असर पार्न सक्छ ?
    उनीहरुबीचको अन्तरविरोधलाई हामीले गलत मान्छौं । दुई कारणले । एउटा कारण त उनीहरुको झगडा कुनै सिद्धान्त, देशको हित वा यस्ता विषयसँग सम्बन्धित छैन । त्यो उनीहरुको सत्ताको छिनाझपटीका लागि झगडा चलिरहेको छ ।

    देश अहिले गम्भीर प्रकारको अवस्थामा छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । कोरोना भाइरसको स्थिति सामान्य भएपछि पनि देशमा अरु संकट उत्पन्न हुनेछन् । किनभने यसले कैयौं सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, अरु जनजीवनका क्षेत्रमा कैयौं संकट छोडेर जानेछ । त्यसकारण हामीले अहिलेको तत्कालिन लकडाउन मात्रै गरेर होइन, दिर्घकालिन रुपमै संकट समाधानको कोशिस गर्नुपर्दछ ।

    यस्तो अवस्थामा अहिले उनीहरुभित्र जुन प्रकारको झगडा छ, त्यो अनावश्यक छ । यो कुनै सिद्धान्तका लागि भएको भगडा होइन । अराजनीतिक झगडा हो । सत्ताको लागि भएको यस्तो झगडालाई हामीले सही मान्दैनौं ।

    अर्को कुरा, कुनै पनि पार्टीमा मतभेदहरु हुन सक्छ । संसारकै जुनसुकै पार्टीमा पनि मतभेद हुनसक्छ । तर, त्यसलाई टुंग्याउने प्रक्रिया हुन्छ । विश्वका कम्युनिष्ट पार्टी र अन्य पार्टीमा पनि प्रचलित प्रक्रिया भनेको बहुमतीय प्रक्रिया हो ।

    पार्टीमा विभिन्न निकायहरु हुन्छन् । केन्द्रीय समिति र अन्य समितिहरु हुन्छन् । ति समितिमा छलफल चलाएर बहुमतको आधारमा अन्तरविरोधलाई टुंग्याउनुपर्छ । यो खाली कम्युनिष्ट पार्टीमा मात्रै होइन, बुर्जुवा पार्टीमा पनि चल्ने प्रक्रिया हो ।
    पार्टीका हरेक सदस्यलाई यो अधिकार हुन्छ कि, म यो अध्यक्षलाई मान्दिन, हटाउँछु भन्ने । वा नेतृत्वलाई मान्दिन हट्नुपर्छ भन्ने अधिकार हुन्छ ।

    त्यस्तै, सरकारमा कोही भए म यो प्रधानमन्त्रीलाई मान्दिन हटाउनुपर्छ भन्ने अधिकार हुन्छ । यसले राम्रो काम गरेन हटाउनुपर्छ भनेर माग गर्ने अधिकार सबैलाई हुन्छ । अहिले नेकपाका सबै सदस्यहरुलाई त्यो अधिकार छ । तर, त्यस्तो मतभेद भयो भने पनि त्यसलाई प्रक्रियामा लगेर टुंगो लगाउनुपर्दछ । त्यो प्रक्रिया भनेको सम्बन्धित कमिटिमा लगेर छलफल गर्ने र बहुमतको आधारमा टुंगो लगाउने । त्यसरी टुंगो लागेको कुरालाई सबैले स्वीकार गर्ने र फेरि मैत्रिपूर्ण रुपमा मिलेर काम गर्ने गर्नुपर्दछ ।

    अहिले नेकपामा त्यस्तो भइरहेको छैन । उनीहरुको बीचमा सार्वजनिक आरोप प्रत्यारोप चलिरहेको छ । हस्ताक्षर अभियान चलिरहेको छ । यो कुनै स्वस्थ तरिका होइन । उनीहरु आफूलाई कम्युनिष्ट पार्टी भन्छन् । तर, उनीहरुको तरिका विल्कुल गलत छ । पार्टीमा कसैले अध्यक्ष मान्दिन भन्यो वा प्रधानमन्त्री मान्दिन भन्यो भने कमिटिमा लगेर छलफल गर्ने र बहुमतीय प्रक्रियाबाट टुंगो लगाउने नै सही तरिका हो । गुटबन्दी गर्ने, हस्ताक्षर गर्ने, आरोप प्रत्यारोप गर्ने कुरालाई हामी सही मान्दैनौं ।

    अवसरवादी तथा दक्षिणपन्थी पार्टी भित्रको अन्तरविरोधले क्रान्तिकारीहरुलाई त फाइदै पुर्याउँछ नि होइन र ?
    कम्युनिष्ट आन्दोलनमा जुन अवसरवादहरु देखिएको छ, विभिन्न प्रकारका भड्कावहरु देखिएका छन्, त्यसले कम्युनिष्ट आन्दोलनलाई नोक्सान पुर्याएको छ । विश्वस्तरमा हेर्नुहोस्, रुसमा संशोधनवाद देखापर्यो, त्यसको परिणाम त्यहाँको समाजवादी व्यवस्था समाप्त भयो । त्यहाँको कम्युनिष्ट पार्टीको विघटन भयो । चीनमा दक्षिणपन्थी संशोधनवाद देखापर्यो, त्यसको परिणामस्वरुप त्यहाँको समाजवादी व्यवस्था खत्तम भयो ।

    यहाँ पनि बेला बेलामा विभिन्न प्रकारका भड्कावहरु देखा पर्ने गरेका छन् । जस्तोः माझीहरु (केशरजंग रायमाझी) जस्ता दक्षिणपन्थीहरु देखापरे, त्यसले कम्युनिष्ट आन्दोलनलाई धेरै नै नोक्सान पुर्यायो । यसरी बेला बेलामा देखा पर्ने त्यस्ता भड्कावले कम्युनिष्ट पार्टीलाई फुटाउने र कम्युनिष्ट आन्दोलनलाई कमजोर पुर्याउने गरेको छ । त्यसकारण अवसरवादी संघर्षहरुले कम्युनिष्ट आन्दोलनलाई मजबुत होइन, कमजोर बनाउँछ । हामीले त्यसका विरुद्ध लगातार सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक रुपमा संघर्ष गर्नुपर्दछ ।

    मधेश केन्द्रित दलहरुबीच रातारात भएको एकतालाई कसरी लिनुभएको छ, यसले नेपाली राजनीतिमा कस्तो असर पार्छ ?
    वास्तवमा मधेशवादी दलहरुको स्वतन्त्र अस्तित्व छैन । यिनिहरु इण्डियाबाट सञ्चालित संगठनहरु हुन् । यिनीहरुका बिचमा हुने एकता वा फुटमा मुख्य भूमिका इण्डियाको नै हुने गर्दछ ।

    भारतीय सम्राज्यवादले नेपाललाई आफ्नो उपनिवेश बनाउन र सिक्किम बनाउन चाहन्छ । पहिलो चरणमा तराईलाई नेपालबाट अलग गरेर भारतमा गाभ्न चाहेको छ भने अन्तमा पुरै नेपाललाई सिक्किम जस्तै भारतमा विलय गर्न चाहन्छ । त्यही उद्देश्य पुरा गर्न नै नेपालमा मधेशवादी दलहरु बनेका हुन् । भारतीय साम्राज्यवादले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकतामा नोक्सान पुर्याउँदै आएको छ ।

    नेपालमा मधेशवादी दलहरु जति बलिया हुँदै जान्छन्, उनीहरुको बिचमा जति एकता हुँदै जान्छ र जति शक्तिशाली हुँदै जान्छन्, त्यति नै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा नोक्सान पुर्याउन सक्छन् ।
    जहाँसम्म अहिले उनीहरुबीच एकता भएको छ, त्यो एकताले अझै औपचारिकता लिईसकेको छैन । उनीहरुका बिचमा यतिधेरै महत्वाकांक्षा छ, अराजकता छ, नेतृत्वप्रतिको भोक छ । यसले गर्दा उनीहरुबीच वास्तविक एकता हुन गाह्रो छ ।

    गतकालमा पनि यिनीहरुका बिचमा एकता भएपनि बारम्बार फुट्ने गरेका छन् । तर, उनीहरु फुटेपनि इन्डियाले मिलाउने कोशिस गर्छ । अहिले पनि दुई पार्टीबीच एकता भयो, मूलरुपमा इन्डियाले नै एक बनाउने काम गरेको हो ।
    अहिले प्रधानमन्त्री ओलीले उनीहरुका बिचमा फुट पार्ने उद्देश्यले जुन अध्यादेश ल्याए, त्यसले उनीहरुलाई नजिक ल्यायो र एकीकृत बनायो ।

    यद्यपी उनीहरुले एकताको घोषणा गरेपनि उनीहरुका बिचमा वास्तविक एकता अझै भएको छैन । नेतृत्वको समस्या, दुवै पार्टीका ठुल ठुला केन्द्रीय समिति, उनीहरुको अहम्वादी भूमिका, व्यक्तिगत महत्वाकांक्षा यी सबै कारणले उनीहरुलाई मिलाउन धेरै नै गाह्रो छ । उनीहरुको अराजकतावादी कार्यशैलीले पनि काम गर्न गाह्रो छ । जे होस्, उनीहरुको एकता राष्ट्रिय हितमा छैन । हामीले त्यो एकतालाई खासै महत्व पनि दिँदैनौं ।

    नेकपा (मसाल) ले संघीयताविरुद्ध लगातार संघर्ष गर्दै आएको छ, तर, पछिल्ला दिनमा संघीयता त संस्थागत हुँदै गयो नि ?
    होइन, संघीयता झन् पछि झन् कमजोर हुँदै गइरहेको छ । संघीयताका पक्षधरहरुले पनि महसुस गर्न थालेका छन् कि नेपालमा संघीयता व्यवहारिक छैन र यो लामो समयसम्म टिक्दैन । जुन प्रादेशिक संरचनाहरु छन्, त्यसको खर्च धान्न नै देशको लागि अप्ठ्यारो स्थिति पैदा भएको छ । यसका अन्तरविरोधहरु बढ्दै गइरहेका छन् । संकटहरु बढ्दै गइरहेका छन् । ति अन्तरविरोध र संकटहरुले संघीयता लामो समयसम्म टिक्नसक्ने अवस्था पनि छैन ।

    तर, त्यो स्वतः खत्तम हुन्छ भन्ने कुरा होइन । जनताले त्यसका लागि आन्दोलन अगाडि बढाउनुपर्छ । हाम्रो पार्टीका त्यसकाविरुद्ध आन्दोलन अझै संगठित गर्नेछ । जनताले संघीयताको मार, बोझ सहन नसक्ने अवस्था भइसकेको छ । यो अवस्थामा जनता पनि सडकमा आउनेछन् र संघीयता फाल्नेछन् भन्ने कुरामा हामी विश्वस्त छौं । यसको लागि केही समय लाग्ला । पञ्चायती व्यवस्थाविरुद्ध हामीले तीस वर्ष संघर्ष गर्नुपर्यो, त्यसरी नै यसका विरुद्ध पनि केही समय लाग्ला । त्यही पनि यो संघीयता लामो समयसम्म टिक्दैन । यो देशको हितमा पनि छैन र टिक्न पनि हुँदैन ।

    अहिले विभिन्न विचारधाराका पार्टी तथा समूहहरु एकीकृत हुँदै गइरहेका छन् । नेकपा (मसाल) ले क्रान्तिकारीहरुबीचको एकताको कत्तिको सम्भावना देखेको छ ?
    एकतालाई दुई तरिकाले हेर्नुपर्दछ । पहिलोः पार्टी एकता र दोस्रोः कार्यगत एकता ।

    अहिले तत्काल पार्टी एकता गर्नेगरी हामीले कुनै पार्टी देखेका छैनौं । अर्को कुनै पक्षसँग तत्काल पार्टी एकताको सम्भावना देखिँदैन । तैपनि हामीले तत्कालिन विषयमा सहमति हुन सक्ने विभिन्न वामपन्थी शक्तिहरुसँग कार्यगत एकता गर्दै आइरहेका छौं । कतिपय पक्षसँग राष्ट्रियता र जनतन्त्र तथा जनजीविकालगायतका विषयमा सहकार्य र एकता गर्ने हाम्रो प्रयत्न हुनेछ ।

    अन्तमा केही बाँकी छ कि ?
    तपाईंले गर्नुभएको प्रश्नहरुले देशको तात्कालिक राजनीतिबारे धेरै कुराहरु आइसकेका छन् । महत्वपूर्ण विषयमा मलाई आफ्नो धारणा राख्ने मौका दिनुभयो त्यसका लागि युगदर्शनलाई धन्यवाद । (अन्तर्वार्ताः विद्यानाथ अधिकारी)

    आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.