लन्डन । उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्यान्डमा शुक्रबार साँझ भएको हुलदङ्गामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले बताएको छ ।
यस हप्ताको सुरुमा भएको सामूहिक छुरा प्रहारको घटनालाई लिएर यो हुलदङ्गा भएको हो ।
घन्टौँको हुलदङ्गापछि आठ जनालाई पक्राउ गरिएको र तीन अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको नर्थम्ब्रिया प्रहरी वरिष्ठ उपरीक्षक हेलेना ब्यारनले बताउनुभयो ।
बिबिसीले प्रसारण गरेको फुटेजमा सन्डरल्यान्डको सिटी सेन्टरमा सयौँको भिडले प्रहरीमाथि आक्रमण गरेको र एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको देखाइएको छ ।
‘हामीले आज साँझ सन्डरल्यान्डमा देखेका स्तब्धकारी दृश्य पूर्ण रूपमा अस्वीकार्य छन्’ ब्यारनले भन्नुभयो– ‘अव्यवस्था, हिंसा र क्षति सहन गरिने छैन ।’
‘पक्राउ परेका आठ जनाबाहेक अन्य संलग्न व्यक्तिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ’ उहाँले भन्नुभयो ।
त्यहाँ भएका घटनाको जवाफमा आन्तरिक मन्त्री यभेट कुपरले दङ्गाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताउनुभयो ।
‘उनीहरूले बेलायतको प्रतिनिधित्व गर्दैनन्’ कुपरले भन्नुभयो ।
यसअघि लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारी तैनाथ गरिएको मर्सिसाइड प्रहरीले बताएको थियो ।
प्रधानमन्त्री किर स्टारमरले हिंसात्मक कार्यहरू गर्ने जो कोहीलाई कानुनको दायराभित्र ल्याउने वाचा गर्नुभएको थियो । (रासस/एएफपी)





