काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका–४ थाराकी १७ वर्षीया धनिशा कुँवर महाकालीमा हाम फालेर बेपत्ता भएकी छन् ।
शनिबार बेलुका हेलिएकी उनको सुरक्षाकर्मीले कुँवरको खोजी जारी राखेका छन् ।
बेपत्ता किशोरी महाकाली नगरपालिका–४ मा दिदीको घरमा बस्दै आएकी थिइन्। उनले सोही ठाउँको रिङ्ने ताल क्षेत्रबाट महाकाली नदीमा हाम फालेकी हुन्।
ती किशोरी हाम फाल्ने बेलाको भिडिओमा उर्लिँदो महाकाली छेउमै सानो पिल्लरमा अडेस लिएर उभिएकी छन्। नजिकै धेरै मान्छेको भीडभाड छ। कोही भिडिओ बनाइरहेका छन्।
एकछिनमा ती किशोरी भएनजिक एक जना सुरक्षाकर्मी पुग्छन्। उनको उद्धार गर्ने प्रयास गर्छन्। तर सुरक्षाकर्मीलाई देख्नासाथ ती किशोरी हत्तपत्त महाकालीमा हेलिन्छिन्।
धनिशाले गत वर्ष भदौमा महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुँवरसँग भागी बिहे गरेकी थिइन्। तर उनीहरुबीचको सम्बन्ध सुमधुर हुन सकेन।
श्रीमान् उमेश जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा करिब ५ महिनादेखि पूर्पक्षको लागि जेलमा छन्। उमेशविरुद्धको मुद्दाको फैसला आएको छैन।
आफूमाथि उमेशले कुटपिट गरेको भन्दै धनिशाले उमेसविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।
पक्राउ गर्न गएका सामुदायिक प्रहरी बाङ्गाबगरका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि उमेशले चक्कु प्रहार गरेर उनी फरार भएका थिए ।
त्यसपछि उनी गत फागुन २० मा महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ परेका थिए। हिरासतबाट अनुसन्धानका लागि मुद्दा फाँटमा लैजाने बेला उमेश हत्कडीसहित भागेका थिए।
उनलाई पक्राउ गर्न पछ्याउने क्रममा महाकाली नगरपालिका–४ स्थित भिरालो ठाउँमा लडेर प्रहरी जवान सोहन चौधरीले ज्यानै गुमाए।
हतकडीसहित महाकाली नदी पारी पुगेका उमेशलाई भारतमा रहेको गोरखा रेजिमेन्टको सहयोगमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको थियो।