वासिङटन । उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठुलोमध्ये एक भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
क्यालिफोर्निया पार्क फायर शनिबार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठुलो आगलागी भएको राज्य एजेन्सी क्याल फायरले जनाएको हो ।
राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५ किलोमिटर उत्तरमा रहेको सिको सहरनजिकैको ठुलो ग्रामीण पहाडी क्षेत्रमा भएको आगलागीबाट ४ हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।
‘फैलिदै गएको आगोले अग्नि नियन्त्रकलाई चुनौती दिइरहेको छ’ क्याल फायरले एक्सको एक पोस्टमा जानकारी गराएको छ ।
एजेन्सीका अनुसार एक दर्जनभन्दा बढी हेलिकप्टर र विमानका साथै तीन हजार ७०० भन्दा बढी कर्मचारीको प्रयासका बावजुद पनि आगो १० प्रतिशत मात्र निभाउन सकिएको थियो । कम तापक्रम र उच्च आद्रताले आगलागीको गति कम भएतापनि अझै फैलिरहेको एजेन्सीले जनाएको छ ।
क्याल फायरको पछिल्लो अपडेटमा आगलागीका कारण २० ओटा संरचना नष्ट भएको पुष्टि गरेको छ ।
जलिरहेको कारलाई सुक्खा झाडीमा धकेलेर आगो लगाएको शङ्कामा ४२ वर्षीया व्यक्तिलाई बिहीबार प्रहरीले हिरासतमा लिएको छ । (रासस/एएफपी)