गाजा (प्यालेस्टाइन) । शनिबार एक विद्यालयमा इजरायली हमलामा ३० जनाको मृत्यु भएको २४ घण्टाभित्र लेबनानबाट प्रहार गरिएको रकेटले इजरायली कब्जामा रहेको गोलान हाइट्समा १२ युवाको ज्यान गएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हेज्बुल्लाहले लेबनानबाट मजदल शम्सको ड्रुज सहरको फुटबल मैदानमा रकेट प्रहार गरी १० देखि २० वर्षका युवाहरूको हत्या गरेको इजरायली सेनाले बताएको छ ।
आक्रमणमा अन्य १८ जना युवाहरू घाइते भएका आपतकालीन सेवाले जनाएको हो ।
‘इजरायलले यो घातक आक्रमणको जवाफ दिने छ र हेजबुल्लाहले यो हमलाका लागि अहिलेसम्म कहिल्यै नचुकाएको भारी मूल्य चुकाउने छ’ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो कार्यालयबाट जारी विज्ञप्तिमा भनेका छन् ।
इजरायली कब्जामा रहेको गोलान हाइट्समा भएको घातक रकेट आक्रमणमा तेहरान समर्थित हेजबुल्लाहमाथि लगाइएको आरोपको विरोध गर्दै इरानले आइतबार लेबनानमा कुनै पनि नयाँ सैन्य आक्रमणले अप्रत्याशित परिणाम निम्त्याउन सक्ने चेतावनी इजरायललाई दिएको छ ।
‘इजरायलको कुनै पनि अज्ञानी कार्यले यस क्षेत्रमा अस्थिरता, असुरक्षा र युद्धको दायरा विस्तार गर्न सक्छ’ विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले भने ।
‘इजरायल यस्तो मूर्खतापूर्ण व्यवहारको अप्रत्याशित परिणाम र प्रतिक्रियाका लागि जिम्मेवार हुने छ’ उनले भने । (रासस/एएफपी)