काठमाडौं । गोरखाको उत्तरी धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एउटा घर पुरिँदा चारजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एकै परिवारका तीनजना छन् ।
पहिरोमा हराएका एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
बेपत्ता हुनेमा घरमुली जितबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ र बुवा कान्छामान गुरुङ छन्। त्यसैगरी सोही घरमा बास बसेका स्थानीय रमेश गुरुङ पनि पहिरोमा बेपत्ता छन्। उनी हाइड्रोका कामदार हुन्।
पहिरोमा पुरिएर स्थानीय दिलिप गुरुङ गम्भीर घाइते भएका छन् ।
गएराति ३ बजे गएको पहिरोले जितबहादुरको घर पुरिएको थियो ।
पहिरोस्थल नजिकै वाटर इनर्जी हाइड्रो पावर निर्माणाधिन अवस्थामा छ। सोही हाइड्रो पावरमा काम गर्ने मजदुरसहित नौ जना गएराति सो घरमा बास बसेका थिए।
राति एक्कासी स्थानीय ड्युपार खोलामा लेदोसहितको ठूलो बाढी आउँदा एउटा घर र एउटा गोठ पुरिएको थियो ।
केही व्यक्तिले भने भागेर ज्यान जोगाएका थिए ।