केरसिंह अदै, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा, कपिलवस्तुले नेता टंक रेग्मीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
रेग्मीको निधन भएको ९औँ दिनमा शनिबार (साउन १२ गते) उहाँकै निवासमा शोकसभा गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।
स्वर्गीय टंक रेग्मीका बुवा टीकाराम रेग्मीको अध्यक्षता मा सम्पन्न शोक सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हरिप्रसाद बेल्बासे र नेकपा (मसाल)का जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीले शोक मन्तव्य राख्नुभएको थियो ।
त्यसक्रममा नेताद्वयले टंक रेग्मी एक असल, जुझारु कार्यकर्ता भएको स्मरण गर्दै उहाँको निधनले पार्टीलाई क्षति पुगेको बताउनुभयो ।
शोकसभामा उहाँका जेठा दाजु दुर्गा रेग्मीले आफ्नो परिवारले मात्रै सदस्य गुमाएको नभइ राष्ट्रिय जनमोर्चाले समेत असल कार्यकर्ता गुमाएको उल्लेख गर्नुभयो ।
टंक रेग्मीको परिवार २०५९ सालमा बागलुङको बोहरा गाउँबाट बसाई सरी कपिलवस्तु वाणगंगा–२ राजपुरमा आएको हो । रेग्मी राष्ट्रिय जनमोर्चाको जिल्ला सहसचिव पदमा रही काम गर्नु भएको थियो ।
उहाँका बुबा,आमा, श्रीमती, एक छोरा र एक छोरी हुनु हुन्छ । उहाँ चार भाइ मध्ये माइलो हुनुहुन्थ्यो ।
राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिंह अदैले सञ्चालन गर्नु भएको शोकसभामा अखिल नेपाल किसान महासंघ (अप्फा) का केन्द्रीय अपाध्यक्ष शिव पौडेल लगायत नेता, कार्य कर्ता, आफन्त र स्थानीयको उपस्थिति रहेको थियो ।