वासिङ्टन डिसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्नुभएको छ ।
“आज मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक रूपमा मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मिहिनेत गर्ने छु र नोभेम्बरमा हाम्रो जित हुने छ’ ह्यारिसले आफ्नो पोस्टमा भन्नुभयो ।
नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति ह्यारिसलाई डेमोर्क्याटिक पार्टीले आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाएको छ ।
यसअघि शुक्रबार पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गर्नुभएको थियो । ओबामाले आफू र अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा ह्यारिसको जित सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
यसबाहेक, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरेले डेमोर्क्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका लागि कमला ह्यारिसभन्दा योग्य अरू नभएको बताउनुभएको थियो । (रासस/एएनआई)