भरतपुर । यहाँका दुध उत्पादक किसानहरूले दुध उत्पादन वृद्घि गर्न छाडेका छन् ।
गत छ महिनादेखि दुधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमा समेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दुध उत्पादन वृद्धि हुने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन ।
बगालेले भन्नुभयो– ‘अहिले दुध उत्पादन गर्ने किसानले दोब्बर उत्पादन गर्न सक्छन् तर बजारीकरणमा समस्या हुँदा उत्पादन वृद्धिमा चासो नदिएका हुन ।’
बजारीकरणमा समस्या हुने डर र बिक्री भएको दुधको रकम लामो समयसम्म भुक्तानी नहुँदा यहाँका किसान पलायन हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
सरोकारवाला निकायले किसानका कुरामा ध्यान नदिँदा दुग्ध उत्पादक किसान मारमा परेको नेपाल किसान महासङ्घका जिल्ला सचिव इन्द्रमणि गैरेले बताउनुभयो । बाहिरबाट अनधिकृत रूपमा आयात हुने दुधका कारण यहाँ दुध उत्पादन वृद्धि हुन नसकेको हो ।
उहाँले भन्नुभयो– ‘अहिले दुध उत्पादन वृद्धि हुने समय हो तर सोचे जस्तो उत्पादन हुन सकेको छैन । किसान दुध उत्पादन वृद्धि गर्न डराउँछन् ।’
अध्यक्ष बगालेका अनुसार निजी क्षेत्र र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) सँग गरी रु ७२ करोड दुधको भुक्तानी लिन बाँकी छ ।
‘भुक्तानीका लागि पटक पटक धाउनपर्छ । थोरै थोरै गरेर भुक्तानी आउँछ’ बगालेले भन्नुभयो– ‘हालको भन्दा बढी दुध उठाउने पक्षमा कोही छैनन् ।’
उहाँले चितवनबाट दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने र जसमध्ये जिल्लामै एक लाख ५० हजार लिटर खपत हुने जानकारी दिनुभयो ।
जिल्लामा साउन महिनामा गत वर्ष जस्तो दुधको माग नभएको बगालेले बताउनुभयो । अहिले जिल्लामा ४० हजार बढी दुध उत्पादक किसान छन् । (रासस)