वीरगञ्ज । देशको सर्वाधिक सक्रिय वीरगञ्ज नाकाबाट राजस्व सङ्कलन घटेको छ ।
गत आवमा अन्तःशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखा परेको हो ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु २७ करोड १५ लाख कम राजस्व सङ्कलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको बताउनुभयो ।
‘गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर सङ्कलन र आयकर सङ्कलन उत्साहजनक देखिएको छ’ उहाँले भन्नुभयो– ‘गत आवमा अन्तःशुल्क करबापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व सङ्कलनमा असर पारेको छ ।’
आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि रु नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा आयकरतर्फ रु दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार सङ्कलन गरेको छ ।
मूल्य अभिवृद्धिकरतर्फ रु दुई अर्ब २० करोड २५ लाख चार हजार सङ्कलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ रु चार अर्ब २० करोड २५ लाख ३६ हजार सङ्कलन गर्ने लक्ष्य राखिएको थियो तर गत आवमा हिमालयन डिस्टिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत रु दुई अर्ब ३९ करोड ८६ लाख २० हजार सङ्कलन गरेको छ ।
प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताउनुभयो ।
आन्तरिक राजस्व विभागले आव २०७९/८० मा कार्यालयलाई रु १० अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने रु सात अर्ब १४ करोड सङ्कलन गरेको थियो । कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृि कर, अन्तःशुल्क र स्वास्थ्यकर असुली गर्ने गर्छ ।