काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा १,५२० जनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा दायर २०१ मुद्दाका प्रतिवादीबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रूपैयाँ ४६ पैसा बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले २०८१ साउन २ गते बुधबार जारी गरेको विज्ञप्तिअनुसार आर्थिक वर्ष २०८०।८१ मा अख्तियारले दायर गरेका मुद्दामा गैरकानुनी लाभहानि ५८ घुस (रिसवत) ४८, नक्कली शैक्षिक प्रमाणपत्र ३४, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी ३४, राजस्व चुहावट–हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध ३ ओटा गरी २०१ ओटा रहेका छन् ।
ती आरोपपत्रमा प्रतिवादी सङ्ख्या १,५२० जना रहेको अख्तियारले जनाएको छ।,जसमध्ये राष्ट्रसेवक कर्मचारी सङ्ख्या ५२४, निर्वाचित जनप्रतिनिधि १०१ जना, मनोनित पदाधिकारी १८१ जना, लेखापढी व्यवसायी–२, बिचौलिया–२, व्यवसायी–९१ र अन्य व्यक्ति ६१९ जना रहेका छन् ।
आव २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २६ हजार ५२२ तथा अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरी रहेकोमा २७ हजार ३५७ उजुरी फर्छ्यौट गरिएका छन्, जुन कुल उजुरी सङ्ख्याको करिब ७६.४९ प्रतिशत हुन आउँछ, जसमा रङ्गे हात कारबाहीको सङ्ख्या ३१ रहँदा ५२ लाख ४२ हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ ।
त्यस्तै, रङ्गेहात कारबाहीमा ४४ जना पक्राउ परेका व्यक्तिमध्ये कुल राष्ट्रसेवक कर्मचारी ३२ रहेका छन् । त्यसैगरी, ९ जना लेखापढी व्यवसायी, विचौलिया, मतियार र ३ जना वडाध्यक्ष परेका छन् ।
विषेश अदालतबाट भएका फैसलामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको सङ्ख्या ९२ रहेको अख्तियारको तथ्याङ्कमा उल्लेख छ ।