खुम रायमाझी, कुवेत ।
कुवेत पेट्रोलियम कर्पोरेशन (केपिसी) ले कुवेतको पूर्वी टापु अलनोखाथा भन्ने स्थानमा हालसम्मकै ठुलो तेल खानी भेटिएको जनाएको छ ।
लामो अन्वेषणपछि हालै पत्ता लागेको उक्त तेल खानीमा करिब तीन दशमलब दुई ब्यारेल कच्चा तेल र ग्याँसको भण्डार हुन सक्ने केपिसीको अनुमान छ ।
उक्त परिमाणको खानी हाल कुवेतमा उत्पादन भइरहेको तेल तथा ग्यासको तीन गुणा बढी हो । कुवेतमा तेलग्याँस उत्पादन, वितरण तथा यसको अन्वेषण गर्ने संस्था केपिसीका अनुसार अहिले पत्ता लागेको यो तेल खानीबाट पूर्ण लाभ लिन सके कुवेतको खानी, ऊर्जा र अर्थव्यवस्थामा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यस सम्बन्धमा केपीसीका प्रमुख कार्यकारी अधिकृत शेख नवाफ अलसाउदले भनेका छन्– यो तेल खानी पत्ता लगाउनु हाम्रो देशको ऊर्जा क्षेत्रको लागि महत्त्वपूर्ण उपलब्धि हो । यसले हाम्रो उत्पादन क्षमता बढाउन मदत गर्ने छ र अन्तर्राष्ट्रिय बजारमा हाम्रो व्यापारिक स्थिति अझ बलियो हुने छ ।
यो नयाँ आविष्कारले कुवेतको तेलग्याँस उद्योगलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । विशेषतः यो भण्डारको उच्च गुणस्तरका कारण विश्वबजारमा कुवेती तेलको प्रतिस्पर्धात्मकता बढाउने छ ।
अहिले भेटिएको यो तेल खानी क्षेत्रको विकास र यहाँबाट तेल तथा ग्याँस उत्पादन प्रक्रिया चाँडै सुरु गर्ने योजना बनाइएको छ । यो तेलखानीबाट पूर्ण रूपमा उत्पादन सुरु भएपछि कुवेतको कुल तेल उत्पादनमा ठुलो वृद्धि हुने छ ।
कुवेतको ऊर्जा मन्त्रालयका प्रतिनिधिले भनेका छन्– यो नयाँ खोजले कुवेतको अर्थतन्त्रमा दीर्घकालीन स्थिरता र समृद्धि सुनिश्चित गर्न मदत गर्ने छ । हामी यस क्षेत्रको दिगो विकासको लागि सबै आवश्यक कदम चाल्ने छौँ ।