• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

शिक्षाको उज्यालो खोज्दै


  •   आइतबार, असार ३१, २०८१ मा प्रकाशित
  • कुम्भराज राई ##
    काठमाडौँ । बूढानीलण्ठ नगरपालिका– १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुग्नुभयो । उहाँ ओखलढुङ्गाको रातमाटेमा जन्मिनुभएको हो । सानोमा उहाँले विद्यालय टेक्नै पाउनुभएन ।

    Advertisement

    ‘छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्या भन्ने चलन थियो’, उहाँले भन्नुभयो, ‘पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहेपछि छोराछोरी हुर्काउँदै ठिक्क भइयो ।’ उहाँका चार सन्तानमध्ये जेठी छोरी राष्ट्रिय वाणिज्य बैङ्कमा जागिरे हुनुहुन्छ ।

    कान्छी छोरी र जेठो छोरो अष्ट्रेलिया छन् । कान्छो इन्जिनीयरिङ अध्ययनरत हुनुहुन्छ । उहाँको श्रीमानको पेशा शिक्षण हो ।

    पढाइ नहुँदा नीराले जीवनमा धेरै हन्डर भोग्नुपर्‍यो । श्रीमानको कमाइमा मात्र कति भर पर्नु भनेर छोराछोरी हुर्काउँदै उहाँले चप्पल उद्योगमा चार वर्ष काम गर्नुभयो । नाम लेख्न नजान्दा सबै ठाउँमा ल्याप्चे लगाउनुपथ्र्यो । ‘अरु सबै लेखपढ गर्न जान्ने थिए । म मात्रै अनपढ । अनपढ हुनु भनेको त मान्छे नै नहुनु जत्तिकै पो रहेछ’, उहाँले भन्नुभयो ।

    एक वर्षअघिको कुरा हो । छिमेकी दिदी कलम कापी बोकेर साँझमा घर फर्कँदै गरेको देख्नुभयो । ती दिदीलाई सोध्दा बालकुमारी माध्यमिक विद्यालयमा पढेर आएको सुनाउनुभयो । वयस्क उमेरका मान्छेलाई दैनिक दुई घण्टा पढाइ हुने खबर सुनेपछि उहाँ भोलिपल्टैदेखि जान तयार हुनुभयो ।

    पढ्न गएको पहिलो दिन उहाँ कक्षा कोठामै रुनुभयो । ‘सबै पढ्न लेख्न जान्ने देखेँ, मलाई क, ख पनि नआउने”, पहिलो दिन सम्झिँदै भन्नुभयो, “मेरो जिन्दगी त बेकार नै रहेछ भन्ने लाग्यो अनि म त रोएँ ।’ लगातार एक वर्ष कक्षा धाइसकेपछि उहाँको जीवनमा अहिले उज्यालो छाएको छ ।

    हिजोआज उहाँलाई दिउँसोको धरधन्दा सकिनेबित्तिकै कापी कलम बोकेर स्कुल जाने हतारो हुन्छ । बेलुकी चारदेखि छ बजेसम्म सञ्चालन हुने कक्षामा सक्रिय भएर पढ्नुहुन्छ । नाम लेख्न, सामान्य लेखपढ गर्न, कतै बाहिर निस्किदा साइनबोर्डहरु पढ्न मज्जाले आउँछ उहाँलाई । घरायसी किनमेल गर्दा जोड, घटाउ, गुणन, भाग गर्न अरुलाई सोध्नु पर्दैन । ‘अहिले त फेसबुक पनि चलाउन जान्ने भएकी छु’, मुसुक्क हाँस्दै उहाँले भन्नुभयो, ‘पढ्ने हुटहुटी यस्तो जागेर आयो कि एसइईसम्मै पढ्ने रहर लागेको छ ।’

    कपनकै स्थायी बासिन्दा गङ्गा ढुङ्गानाको कपाल फुलिसके । उमेरले ६३ औं वसन्त टेकिसक्यो । नातिले यसपालि एसइई पास ग¥यो ।

    उहाँ पनि नीराकी सहपाठी हुनुहुन्छ । सिन्धुपाल्चोक माइत भएकी उहाँको बिहे नौ वर्षमै भयो । ‘विद्यालय जाने र पढ्ने कुरा थाहा पाउनु त परै जावस् । बिहे के हो भन्ने थाहा नहुने उमेरमै बिहे भयो’, उहाँले ती दिन सम्झिनुभयो, ‘छोरी मान्छेको जात बिहे गरेर अरुको घर जाने र छोराछोरी जन्माउने मात्रै होला जस्तो लाग्थ्यो ।’

    उमेर बढ्दै जाँदा थाहा भयो पढाइको महत्व । साइनबोर्ड पढ्न नजान्दा काठमाडौँमै पटकपटक हराउनुप¥यो । कुनै गाडी चढ्न खोज्दा कता जाने हो भनेर सोध्नुपर्ने बाध्यता । उहाँका पाँच नातिनातिना हुर्किसके । उहाँ पनि एक वर्षदेखि बालकुमारी माविमै सञ्चालित अनौपचारिक शिक्षा कक्षामा पढिरहनुभएको छ ।

    छोरी मान्छेले पढ्यो भने पोइला जान्छन् भन्ने सुन्नुभएकी उहाँ बुढेसकालमा पढ्न पाउँदा औधी खुसी हुनुहुन्छ । कक्षा दुईसम्मको किताब पढ्न सक्ने हुनुभएको छ उहाँ । ‘पढाइ भन्ने कुरा नमरेसम्म काम लाग्ने रहेछ । पढ्नु जान्नुको मज्जा बुझेपछि पढाइ छोड्नै मन छैन’, उहाँ भन्नुहुन्छ ।

    काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्नुहुने ४४ वर्षिया निरु पराजुलीसँग पढाइलेखाइ नहुँदाका मर्मस्पर्शी घटना छन् । लेखपढ नभए पनि गीत गाउन, कविता भन्नमा उहाँको सानैदेखि रुची थियो । विसं २०५५ मा धादिङको एउटा साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर पाउनुभयो । उक्त कार्यक्रममा कविता भन्ने पालो आयो उहाँको । मञ्चमा जाँदा खै त कविता ? भनेर सोधियो । उहाँले मलाई लेख्न आउँदैन मुखैले भन्छु भन्दा अवसर दिइएन । उहाँले आयोजकसँग धेरै अनुरोध गरेपछि कविता वाचन गर्न पाउनुभयो । उहाँको मौखिक कवितालाई निर्णायकले लेख्य रुपमा उता¥यो र पुरस्कृत गर्याे ।

    ‘पढ्न लेख्न जान्नैपर्ने रहेछ भन्ने महत्व मैले त्यसैबेला महशुस गरेँ’, उहाँले भन्नुभयो, लेख्नै नजान्नेको कविता पनि पुरस्कृत भयो भनेर धेरैले कुरा काटे । त्यहाँदेखि मलाई पढाइको भोक जागेको हो । तर, पढ्ने अवसर पाइएन । काभ्रेको कोशीपारि धुसेनीमा जन्मिनुभएकी उहाँलाई बुबाआमाले पढ्नै नदिएको भने होइन । चार दिदीबहिनीमा साहिंली निरुले त्यतिबेला पढ्ने मन गर्नुभएन ।

    उहाँकी जेठी छोरी बेलायतमा हुनुहुन्छ । कान्छीको बिहे भइसक्यो । छोरो सानै छ । सुरुमा विकल्प महिला शिक्षा ज्ञान केन्द्रमा पढ्न थाल्नुभएकी उहाँ पनि एक वर्षदेखि बालकुमारी माविमा सञ्चालित सन्ध्याकालीन अनौपचारिक कक्षामा सहभागी हुनुभएको हो ।

    अहिले गीत, कविता आफ्नै डायरीमा लेख्नुहुन्छ । सामान्य अङ्ग्रेजी लेख्न, पढ्न आउँछ । मोबाइलमा फेसबुक चलाउन सक्नुहुन्छ ।

    पढ्न जानेपछि जो कोहीको अगाडि बोल्न डर नलाग्ने रहेछ, उहाँको अनुभव छ, मनमा लागेका सबै कुरा गीत कविताको माध्यमबाट लेख्नु सजिलो हुने रहेछ ।

    उमेरले तीन बिसा (६० वर्ष) नाघ्ने तरखर गरिसक्यो देवकी ढकालको । तर, उहाँमा पढ्ने जोश १६ वर्षे झैँ छ । पढ्ने कुरा सम्झिँदा त भर्खर १५ कटेकी छु जस्तो लाग्छ, जोशिलो हुँदै उहाँले भन्नुभयो, मलाई त कम्तिमा एसइई पास गर्न पाए कस्तो हुन्थ्यो भन्ने पो लाग्दैछ ।

    सिन्धुपाल्चोकको सिन्धुकोट सिन्धुमसुरे माइत भएकी देवकीको लाखेपोखरीमा बिहे भयो । पछि काठमाडौँ आउनुभएकी उहाँको स्थायी बसोबास बुढानीलकण्ठ नगरपालिका–१२ मा छ । श्रीमान बितिसकेपछि उहाँ एक्लो जस्तो हुनुभएको थियो । एक वर्षदेखि अनौपचारिक शिक्षामा कक्षा लिइरहनुभएकी उहाँ कक्षाकै ‘ट्यालेन्ट’ मध्येकी एक हुनुहुन्छ ।

    अहिले उहाँलाई सामान्य लेखपढ, हिसाब गर्न आउँछ । अस्पतालमा शय्या नं हेर्न, बैङ्कमा भौचर भर्न आफैँ सक्ने हुनुभएको छ । कुन रुटको बस कता जान्छ भन्ने हेर्ने बित्तिकै थाहा पाउनुहुन्छ । ‘मलाई त पनातिसँगै भए पनि एसइई दिउँ जस्तो लाग्दैछ’, उहाँले भन्नुभयो ।

    अनौपचारिक शिक्षाको अवधारणा राम्रो भए पनि यसलाई थप व्यवस्थित गर्नुपर्ने उहाँको सुझाव छ । अहिले कक्षा सञ्चालन भइरहेको विद्यालयमा कक्षाकोठा साँघुरो छ । बेलोबलामा सबैजना कक्षामा अट्नै गाहे हुन्छ । भर्खरै पढ्न आउने र एक वर्षदेखि पढिसकेका एकै ठाउँमा हुँदा पढाइको तालमेल नमिल्ने उहाँको गुनासो छ ।

    तेह्र वर्षको उमेरमा बिहे गरेर २०५४ को स्थानीय निकाय निर्वाचनमा वडा सदस्य निर्वाचित हुनुभएकी देवकीलाई पढ्नु भनेको जीवनलाई अँध्यारोबाट उज्यालोतर्फ लैजानु रहेछ भन्ने लागेको छ । “पढ्नलाई उमेरले नछेक्ने रहेछ । लेखपढ नगरी मरेको भए त स्वर्ग पनि गइन्न थियो कि जस्तो लाग्न थालेको छ”, उहाँ भन्नुहुन्छ ।

    उल्लिखित पात्रहरुभन्दा जेठी हुनुहुन्छ गोमा आचार्य । कपनमै बस्नुहुने आचार्य ६९ वर्षकी हुनुभयो । उहाँ पनि नीरा, गङ्गा, निरु र देवकीकै सहपाठी हुनुहुन्छ । बाह् वर्षको उमेरमा बिहे गर्नुभएकी उहाँ २०४५ सालमा काठमाडौँ आउनुभएको हो । एक वर्षअघि कखरा पढ्न थाल्नुभएकी उहाँले औँठाछापबाट मुक्ति पाउनुभएको छ । ‘अर्को सालदेखि त भत्ता पाउँछु भनेका छन् । सबै कागजात बुझाइसकेँ’, उहाँले भन्नुभयो, ‘अब भत्ता बुझ्ने बेला ल्याप्चे गर्नुपर्दैन, नाम लेख्न सक्छु ।’

    सोलुखुम्बुको नेचासल्यानमा जन्मिएर ओखलढुङ्गाको च्यानम बिहे गर्नुभएकी दुर्गा अधिकारी ५३ वर्षकी हुनुभयो । सानोमा दाजुले पढेपछि हुन्छ भन्ने लागेर उहाँ स्कुल जानुभएन । सत्र वर्षमा बिहे भएको उहाँले त्यसपछि मात्र पढाइको महत्व बुझ्नुभयो । उहाँ सानो हुँदा कक्षा चारसम्म विद्यालय जानुभएको हो । त्यतिखेर पाटीमा माटो दलेर सिटाले लेख्नुपथ्र्यो । पढाइमा खासै ध्यान दिनुभएन ।

    अहिले दुर्गाले अनौपचारिक शिक्षाको कक्षा लिइरहनुभएको छ । एक वर्षमा जोड, घटाउ, गुणन, भाग गर्न सक्ने हुनुभयो । ए, बी, सी, डी जान्नुभयो । मोबाइल चलाउन सिक्दै हुनुहुन्छ । “नातिनातिनासँगै स्कुल जाउँ कि भनेको थिएँ तर त्यतिखेर जान सकिएन”, उहाँले भन्नुभयो, “अहिले पढ्न पाउँदा खुसी छु । तर, हामीले पढे अनुसार कक्षा चढ्दै जाने भए हुन्थ्यो ।”

    बालकुमारी मावि फैँकामा उहाँहरुजस्ता ४५ जना वयस्क र वृद्धा उमेरका महिला अनौपचारिक शिक्षाअन्तर्गत वडाले सञ्चालन गर्दै आएको कक्षामा पढ्नुहुन्छ । उहाँहरुलाई ‘निरन्तर शिक्षा तह–१’ पुस्तक पढाउने गरेको स्वयंसेवी शिक्षिका रीता सिलवालले बताउनुभयो । उक्त पुस्तकमा कक्षा एकदेखि दुई सम्मका विद्यार्थीले पढ्नेस्तरका नेपाली, अङ्ग्रेजी र गणितका पाठ्यसामग्री समावेश छन् ।

    सामान्य लेखपढसमेत नभएका धेरै गृहिणी महिलाहरु कक्षामा आउन चाहेको उहाँको भनाइ छ । यदि दिउँसो ११ बजेदेखि ३ बजेभित्र कक्षा सञ्चालन गर्ने हो भने कपनमै एक सय ५० जति गृहिणीहरु पढ्न आउँछन्, उहाँले भन्नुभयो, तर हामीसँग त्यति सङ्ख्यामा पढाउने कक्षा कोठा र पढाउने जनशक्ति छैन ।

    बूढानीलकण्ठ–१२ मा अनौपचारिक शिक्षा कक्षा २०७० सालदेखि सुरु भएको हो । त्यतिखेर वडा नं १० मा बिन्दा गौतम, सावित्री भट्टराईलगायतका महिलामैत्री भन्ने एउटा मञ्च थियो । सोही मञ्चको नेतृत्वमा अनौपचारिक शिक्षा कक्षा सञ्चालन भएको हो ।

    तत्कालीन वडा नागरिक मञ्चका संयोजक शम्भुप्रसाद भट्टराईले २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं १२ मा अध्यक्ष निर्वाचित भएपछि यो कक्षा सञ्चालनलाई निरन्तरता दिनुभयो । यो कक्षा तीनवटै वडामा लोकप्रिय भएपछि नगरपालिकाको सबै वडामा सञ्चालन गर्ने कि भन्ने छलफल भइरहेको छ, उहाँले भन्नुभयो, हामीले वार्षिक दुई लाख ५० हजार बजेट विनियोजन गरेर तीनवटा वडामा कक्षा चलाइरहेका छौँ । नगरपालिकाको नगर सुशासन समितिका संयोजकसमेत रहनुभएका भट्टराईले अनौपचारिक शिक्षा कक्षा जुनजुन विद्यालयमा सञ्चालन भइरहेका छन्, सोही विद्यालयसँग समन्वयगरी पढाइअनुसार कक्षा चढाउँदै लैजाने तयारी गरिरहेको बताउनुभयो ।

    अहिले तीन वटा वडामा दुईजना स्वयम्सेवी शिक्षिकाहरुले पढाउँदै आएका छन् । उहाँहरुलाई मासिक आठ हजार तलब सुविधा वडाले उपलब्ध गराएको छ । विविध कारणले सानोमा विद्यालय जान नपाउनुभएका गृहिणी महिलाहरु यी कक्षाका लक्षित समूह हुन् ।

    शिक्षा त्यस्तो शक्तिशाली हतियार हो, जसको माध्यमबाट तपाईं संसार बदल्न सक्नुहुन्छ, भन्ने दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको भनाइ झैँ शिक्षाप्रति उहाँहरुले देखाउनुभएको उत्साहले पक्कै समाज रुपान्तरणमा सहयोग गर्नेछ । (रासस)

    आइतबार, असार ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.