काठमाडौँ । लेखक तथा साहित्यकार नारायण शर्मा दाहाललाई आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार–२०८० प्रदान गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको हातबाट २०८१ असार २७ गते बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक औपचारिक कार्यक्रममाझ उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।

सङ्खुवासभाको माथिल्लो पाङ्ठामा २०२४ साल चैत २२ गते जन्मनुभएका शर्माका हालसम्म ३७ ओटा प्रकाशित कृति तथा दुईओटा अप्रकाशित गरी ३९ ओटा कृतिहरू रहेका छन् ।
सोही योगदानबापत् उहाँलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
हाल काठमाडौँको कीर्तिपुरमा रहँदै आउनुभएका शर्मा ‘समाज अन्वेषण’ विज्ञसमीक्षित जर्नलको कार्यकारी सम्पादक हुनुहुन्छ ।

त्यस्तै, उहाँ ‘मुक्तिनाथ दिग्दर्शन’ त्रैमासिकको सम्पादक/प्रकाशकसमेत हुनुहुन्छ ।
साहित्यकार शर्माले यसअघि थुप्रै सम्मान तथा पुरस्कार पाइसक्नुभएको छ ।
४७ व्यक्तित्व पुरस्कृत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आयोजक रहेको उक्त कार्यक्रममा ४७ जना व्यक्तित्वलाई भाषा तथा संस्कृतिसहित नौओटा विधाका क्षेत्रका राष्ट्रिय पुरस्कार तथा विभिन्न प्रादेशिक पुरस्कार प्रदान गरिएको थियो ।
त्यस क्रममा भाषासाहित्यतर्फ राष्ट्रिय पुरस्कार गोर्खाका वसन्तबहादुर बराकोटीलाई, गण्डकी प्रदेश प्रादेशिक भाषासाहित्य पुरस्कार तनहुँका भीम रानाभाटलाई र गोपालप्रसाद रिमाल काव्य राष्ट्रिय प्रतिभा पुरस्कार स्वप्नील स्मृतिलाई प्रदान गरिएको थियो ।
राष्ट्रिय पुरस्कारको राशि एक लाख तथा प्रादेशिक पुरस्कारको राशि ५० हजार रहेको छ ।