गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकमा असिनाका कारण रु ५३ लाख १८ हजार ३२० बराबरको अन्नबाली क्षति भएको छ । गत वैशाख ८ गते परेको असिनाले गाउँपालिकाको वडा नं २ भिमापोखरा र वडा नं ३ को धम्जामा लगाइएको बालीमा क्षति पु-याएको थियो । असिनाले किसानको अन्नबाली, तरकारी र फलफूलमा क्षति पु-याएपछि गाउँपालिकाले स्थलगतरूपमै गएर क्षतिको विवरण संकलन गरेको काठेखोला गाउँपालिकाले जनाएको छ ।
असिनाका कारण धम्जामा रु २५ लाख ९३ हजार ४२० र भिमपोखरामा रु २७ लाख २४ हजार ९०० बराबरको अन्न, फलफूल तथा तरकारी नष्ट भएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाको धम्जा र भीमपोखरामा गहुँ, जौँ, केराउ, मुसुरो दाल, आलु, प्याज, लसुन, तोरी, काउली, बन्दा, सुन्तलाको फूल, कागती, सिमी र मकैका बिरुवामा क्षति पु-याएको थियो । गाउँपालिकाले तत्कालै असिनाले पु-याएको क्षतिका कारण समस्यामा पुगेकालाई कोरोना रोकथाम तथा राहतकोषबाट खाद्यान्न प्रदान गर्ने र पछि कृषि उपजका लागि आवश्यक मल, बीउजस्ता राहतका कार्यक्रम ल्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ । ठूलो मात्रमा अन्नबाली तथा तरकारीमा भएको क्षतिको विवरणअनुसार नगद अनुदानसमेत दिइने गाउँपालिका प्रमुख प्रशासकीय विश्वकर्माको भनाइ छ ।
सोही दिन परेको असिनाको कारण जिल्लाको गलकोट नगरपालिकाका वडा नं ९, १० र ११ वडामा समेत ठूलो क्षति पु¥याएको छ । गलकोट नगरपालिकाले स्थलगतरूपमै पुगेर क्षतिको विवरण संकलन गरिरहेको नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिनुभयो ।
क्षति भएको विवरणका आधारमा गलकोट नगरपालिकाले समेत किसानलाई राहत प्याकेज ल्याउने योजनामा रहको काउचाको भनाइ छ । असिनाका कारण आफूले लगाएको तरकारी खेती पूरै नष्ट भएका कारण समस्यामा परेको गलकोट नगरपालिका–९ बरेखानीका युवा किसान मित्रलाल गौतमले बताउनुभयो । उहाँले तीन तहको सरकारले समस्यामा परेका कृषकलाई राहत ल्याउन मागसमेत गर्नुभयो ।