कञ्चनपुर । अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन्। महाकालीमा नेपालतर्फका सबै ढोका खोलिएका हुन्।
महाकालीमा पानीको बहाव बढेपछि नेपालतर्फका सबै ढोका खोलिँदा तटीय क्षेत्र भीमदत्त नगरपालिका–११, १२ र १३ का बस्ती प्रभावित भएका छन्।
यस्तै, महाकालीको पानीले दोधारा चाँदनी नगरपालिकाका बस्ती पनि निकै प्रभावित भएका छन्। ती बस्तीहरूमा पानी पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेका छन्।
महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधन आवागमन अझै सञ्चालन भएको छैन।
शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सवारीसाधनमा रोक लगाइन्छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार महाकालीमा पानीको तह ३ लाख ४० हजार क्युसेक पुगेको छ।