काठमाडौं । बेलायतस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ ।
त्यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा उहाँहरूमा भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका लागि आग्रह गरिएको छ ।
यस सम्बन्धमा राजदूत स्वयंले ब्रिटिश सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोरखा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो ।
बेलायतमा ३३ नेपालीले ज्यान गुमाए, विश्वभर ४९ जनाको मृत्युु,
कोरोना भाइरसबाट आइतबारसम्म नेपाल बाहिर ४९ नेपालीको मृत्यु भएको छ । सबैभन्दा बढी बेलायतमा ३३ नेपालीले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघ, उच्चस्तरीय स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा ८, युएईमा २, टर्की, आयरल्यान्ड, नेदरल्याण्ड्स र जापानमा एक—एक नेपालीको मृत्यु भएको छ । यो तथ्यांक नेपाली समयअनुसार आइतबार बिहानसम्मको हो।
विदेशस्थित अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली दूतावास, एनआरएनए शाखा तथा स्थानीय संघसंस्थाको सहयोगमा समितिले यो तथ्यांक संकलन गरेको हो।
विदेशमा दुई हजार नेपाली कोरोना संक्रमित
समितिको तथ्यांकअनुसार विदेशमा रहेकामध्ये कूल १ हजार ९ सय ७४ नेपाली कोरोनाबाट संक्रमित छन् । यो तथ्यांक नेपालमा संक्रमित हुनेहरुको संख्या बाहेक हो । संक्रमित हुनेमा विदेशस्थित अस्पतालमा कार्यरत ७० भन्दा बढी नेपाली चिकित्सक पनि छन् ।
कोरोनाबाट सबैभन्दा बढी नेपाली अमेरिकामा संक्रमित भएका छन् । ‘त्यहाँ एक हजारभन्दा बढी नेपाली संक्रमित भएका छन्’, समितिले भनेको छ, ‘दोस्रो धेरै नेपाली संक्रमित हुने देशमा ब्रिटेन रहेको छ ।’ ब्रिटेनमा ७०० भन्दा बढी नेपाली संक्रमित छन् ।
समितिका अनुसार विदेशमा अहिलेसम्म ४३४ नेपाली संक्रमित भएपछि सञ्चो भएका छन् ।
‘विश्वभरिका नेपालीमध्ये २४ देशमा रहेकाहरुमा कोरोना देखिएको छ । हामी त्यसको अनुसन्धान गरिरहेका छौं’, एनआरएनए महासचिव डा. हेमराज शर्मा भन्छन्, ‘कोरोनाका कारण नेपालीमा परेका अन्य असरहरुबारे समेत अध्ययन गर्ने काम भइरहेको छ ।’
महासचिव डा. शर्माका अनुसार कोरोना महामारी पछि संघले ४१ देशमा रहेका शाखामार्फत ९ सय स्वयसेवक परिचालन गरेको छ । त्यसबाट विश्वभरका करिब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष—अप्रत्यक्ष रुपमा राहत पाएका छन् ।

